Skip to content

सोविता गौतम चितवन–३ बाट चुनाव लड्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका प्रमुख नेताहरूको निर्वाचन क्षेत्र टुंग्याउने क्रम सुरु गरेको छ। सोही क्रममा पार्टीकी केन्द्रीय नेतृ तथा सांसद सोविता गौतम चितवन–३ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बन्ने निश्चित भएको छ । गौतम यसअघि काठमाडौं–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन्। पार्टीको उम्मेदवार छनोट सिफारिस समितिको आज बसेको बैठकले उनको निर्वाचन क्षेत्र परिवर्तन गर्दै चितवन–३ बाट चुनाव लड्ने निर्णय गरेको हो । उक्त समितिको संयोजक पार्टी उपसभापति डा. स्वर्णिम वाग्ले स्वयं हुन्। उनले तनहुँ–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने पक्का भइसकेको जानकारी दिएका छन्। समितिका अर्का सदस्य शिशिर खनाल यसअघि निर्वाचित भएको क्षेत्र काठमाडौं–६ बाट पुनः चुनावी प्रतिस्पर्धामा उत्रने भएका छन् ।

संयोजक वाग्लेका अनुसार आजको बैठकले देशभरका १ सय ६५ निर्वाचन क्षेत्रका उम्मेदवारका नाम सिफारिस गरी पार्टी सचिवालयमा पठाइसकेको छ। हिमाली तथा पहाडी जिल्लाका उम्मेदवार आइतबार बिहानसम्म टुंगो लाग्नेछ भने सोही अनुसार टिकट वितरण गरिनेछ। सुगम तथा शहरी क्षेत्रका उम्मेदवारलाई भने आइतबार साँझसम्म टिकट प्रदान गर्ने कार्यतालिका रहेको छ ।  वाग्लेका अनुसार यसअघि सांसद भइसकेका तथा प्रदेश सभापतिहरू स्वतः उम्मेदवार बन्नेछन्। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाबाट उम्मेदवार बन्न करिब ७ सय ५० जनाले आकांक्षा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्