काठमाडौं – नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै प्रतिनिधिसभा प्रत्यक्षतर्फको टिकट वितरण सुरु गरेको छ। शनिबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको हो । उपमहासचिव लेखराज भट्टका अनुसार बाँकी क्षेत्रको निर्णय अध्यक्ष ओलीले आवश्यक छलफलपछि गर्नेछन् । सार्वजनिक सूचीअनुसार ओली झापा–५ बाटै उम्मेदवार हुनेछन् । उपाध्यक्षहरू बिष्णु पौडेल पाल्पा–२, पृथ्वीसुब्बा गुरुङ लमजुङ र गोकर्ण बिष्ट गुल्मी–२ बाट उम्मेदवार बनेका छन्। उपमहासचिव भट्ट कैलाली–४ र रघुवीर महासेठ धनुषा–४ बाट उठ्नेछन् । तर उपमहासचिव योगेश भट्टराईको ताप्लेजुङ क्षेत्रबारे निर्णय हुन सकेन। स्रोतका अनुसार टिकट वितरण प्रणालीप्रति असहमति जनाएका भट्टराईलाई टिकट नदिन अध्यक्ष ओली इच्छुक देखिएका छन्। यस्तै, ईश्वर पोखरेल, गोकुल बास्कोटा, ठाकुर गैरेलगायत इतर समूहका नेताहरूले पनि टिकट पाएनन् । टिकट वितरणमा स्पष्ट मापदण्ड नबनाइएकाले पार्टीभित्र असन्तुष्टि बढ्न सक्ने नेताहरूको भनाइ छ। केही पदाधिकारी र पूर्वनेताहरूको टिकट अनिश्चित रहँदा आन्तरिक एकतामा चुनौती आउन सक्ने संकेत देखिएको छ ।





प्रतिक्रिया दिनुहोस्