काठमाडौँ — बालेन साह भोलि सोमबार बिहानै धनगढी प्रस्थान गर्ने तयारीमा छन् । धनगढी पुगेसँगै उनले सुदूरपश्चिम प्रदेशको चुनावी कमान्ड सम्हाल्नेछन् ।
धनगढीबाट सुरु हुने भ्रमणका क्रममा बालेनले कैलालीको लम्कीचुहामा पहिलो कार्यक्रम गर्नेछन् भने दिउँसो पार्टी कार्यालय रहेको भल्कामा आयोजना हुने अर्को कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । बालेननिकट स्रोतका अनुसार धनगढी ओर्लिएपछि उनले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूको भ्रमण गर्नेछन् । अछाम क्षेत्र नम्बर–२ का उम्मेदवार तथा बालेननिकट भूपदेव शाहका अनुसार बालेनको यो तीन दिने यात्रा निकै व्यस्त रहनेछ । धनगढीबाट सुरु हुने यात्रा सुदूरपश्चिमका पहाडी जिल्लाहरू हुँदै अछाम पुग्ने र त्यसपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतसम्म जाने कार्यक्रम तय भएको छ । सुर्खेतमा उनले कर्णाली प्रदेशका उम्मेदवार तथा समर्थकहरूसँग भेटघाट गर्नुका साथै चुनावी सभाहरूलाई सम्बोधन गर्नेछन् । ती कार्यक्रम सम्पन्न गरेपछि बालेन पुनः काठमाडौँ फर्कनेछन् ।
शाहका अनुसार तीन दिने भ्रमणको क्रममा स्थानीय आवश्यकता र समर्थकहरूको मागअनुसार थप केही जिल्लाहरूमा पनि कार्यक्रम थपिन सक्ने सम्भावना रहेको छ । पश्चिम नेपालमा आफ्नो उपस्थितिलाई मजबुत बनाउन बालेनले यो भ्रमणलाई निकै महत्त्व दिएका छन् । छोटो समयमै देशका धेरै भूगोलमा पुगेर जनताको प्रत्यक्ष राय लिने र आफ्नो उम्मेदवारीको औचित्य पुष्टि गर्ने बालेनको योजना रहेको शाहले बताए ।





प्रतिक्रिया दिनुहोस्