जनकपुरधाम – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाललाई सुधार्ने र सम्हाल्ने जिम्मेवारी कांग्रेसले लिने प्रतिवद्धता व्यक्त गरेका छन् । शुक्रबार जनकपुरधाममा आयोजित नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीले योजनाबद्ध रूपमा तीन तहमा काम गर्ने तयारी गरेको जानकारी दिए । उनका अनुसार पहिलो तहमा राष्ट्रिय स्तरको दीर्घकालीन सोच र योजना निर्माण गरिनेछ, दोस्रो तहमा मधेशका विशेष मुद्दाहरूलाई प्राथमिकताका साथ सम्बोधन गरिनेछ भने तेस्रो तहमा स्थानीय तहका समस्याहरू उठाउँदै सभा–जुलुसभन्दा बढी घर–घर पुगेर जनतासँग प्रत्यक्ष भेटघाट गरिनेछ । उनले वर्तमान अवस्थामा देशलाई सही दिशा देखाउने नेतृत्व कांग्रेसले नै अघि सार्ने दाबी गरे । सभापति थापाले पार्टीभित्र अनुशासन मजबुत बनाउन अनुशासन समिति गठन गरी निगरानी गरिने जानकारी दिदै नयाँ–पुराना तथा पार्टीबाट टाढा भएका नेता–कार्यकर्तालाई समेत एकताबद्ध गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
सोही दिन सभापति थापाले धनुषा निर्वाचन क्षेत्र नं. ४ मा कांग्रेसका कार्यकर्ताहरूसँग भेटघाटसमेत गरेका थिए । साथै मधेश प्रदेशभर पार्टीको प्रचार–प्रसारलाई अझ प्रभावकारी, व्यवस्थित र व्यापक बनाउने विषयमा मार्गदर्शन तथा विचार–विमर्श गरिएको थियो । बैठकमा आगामी फागुन ७ गते आयोजना हुने मधेश सभाको तयारी, व्यवस्थापन तथा समन्वयका विषयमा विस्तृत छलफल गरिएको कांग्रेस मधेश प्रदेश समितिले जनाएको छ । बैठकमा कांग्रेस मधेश प्रदेशका सभापति तथा मुख्यमन्त्री कृष्णप्रसाद यादव, आठ वटै जिल्लाका सभापति, प्रतिनिधि सभा सदस्य, उम्मेदवारलगायतको उपस्थिति रहेको थियो ।





प्रतिक्रिया दिनुहोस्