बुटवल – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आज मंगलबार पश्चिम नवलपरासीमा हुने भनिएका चुनावलक्षित कार्यक्रममा जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले चासो राखेको छ । प्रशासनले निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न, नगराउन लामिछानेलाई भनेको छ । सुप्रिम सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाको तारिख बुझ्न सोमबार जिल्ला अदालत रुपन्देही आएको मौकामा लामिछानेले रुपन्देहीका ५ निर्वाचन क्षेत्रका दुई दर्जन स्थानमा पुगेर केही ठाउँमा समर्थकहरुलाई सम्बोधनसमेत गरेका थिए । त्यस्तै कार्यक्रम मंगलबार पश्चिम नवलपरासीमा पनि तय गरेका थिए । तर जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी ‘निर्वाचन आचारसंहिता विपरीत’ कार्यक्रम नगर्न भनेको हो ।
पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषन राज भण्डारीले जारी गरेको सूचनामा लेखिृएको छ, ‘…मिति २०८२ साल माघ २७ गते यस जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ रहेको सूचना प्राप्त हुन आएकाले सो सम्बन्धमा निर्वाचन आचारसंहिता २०८२ आकर्षित हुने गरी निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्नु, नगराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’





प्रतिक्रिया दिनुहोस्