काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमार्फत पार्टीले मुलुकका राजनीतिक दलहरूलाई चार मुख्य वर्गमा विभाजन गर्दै आफूलाई एकमात्र ‘क्रान्तिकारी शक्ति’ को रूपमा प्रस्तुत गरेको छ । घोषणापत्रमा राजनीतिक शक्तिहरूलाई क्रान्तिकारी, यथास्थितिवादी, पपुलिष्ट र प्रतिगामी पुनरुत्थानवादी गरी चार वर्गमा वर्गीकरण गरिएको छ । नेकपाले स्पष्ट समाजवादी कार्यदिशासहित समाज रूपान्तरण गर्ने शक्ति आफू मात्रै भएको दाबी गरेको छ । पार्टीले नेकपा एमाले र नेपाली कांग्रेसलाई ‘यथास्थितिवादी शक्ति’ को संज्ञा दिँदै उनीहरूसँग देशलाई अगाडि बढाउने कुनै नवीन सोच वा कार्यक्रम नरहेको टिप्पणी गरेको छ । त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका नयाँ उदाउँदा शक्तिहरूमाथि कडा प्रहार गरिएको छ । घोषणापत्रमा यस्ता शक्तिलाई ‘सिद्धान्तहीन र दृष्टिकोणविहीन पपुलिष्ट’ भन्दै भदौ २४ मा भएको विध्वंशकारी गतिविधिसँग जोडिएको गम्भीर आरोप लगाइएको छ । यस्ता शक्तिहरूले मुलुकका समस्याको समाधान गर्न नसक्ने र देश तथा जनताको हितमा नरहेको नेकपाको दाबी छ । घोषणापत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई ‘प्रतिगामी पुनरुत्थानवादी शक्ति’ को रूपमा चित्रित गरिएको छ । जनक्रान्तिबाट उखेलेर फालिएको सामन्ती राजतन्त्र पुनःस्थापना गर्ने षड्यन्त्रमा संलग्न रहेको आरोप लगाउँदै यस्ता शक्तिले देशलाई पछाडि धकेल्न खोजिरहेको नेकपाको आरोप छ । विगतका जनआन्दोलन र राजनीतिक परिवर्तनको नेतृत्व आफूले गरेको दाबी गर्दै नेकपाले लोकतन्त्र, संघीयता र समावेशी प्रतिनिधित्वजस्ता उपलब्धि आफ्नै संघर्षबाट प्राप्त भएको उल्लेख गरेको छ । ‘हामीले व्यवस्था बदल्यौँ, अब अवस्था पनि हामीले नै बदल्नेछौँ,’ घोषणापत्रमा भनिएको छ, ‘अरूले गफ गर्छन्, हामी काम गरेर देखाउँछौँ।’





प्रतिक्रिया दिनुहोस्