काठमाडौँ – अमेरिकाले इरानमा चाँडै नै सैन्य हमला गर्न सक्ने विवरण सार्वजनिक भएको छ । स्वीटजरल्याण्डको जेनेभामा अमेरिका र इरानबीचको अप्रत्यक्ष वार्ता तात्विक रूपमा सफल नभएपछि अमेरिकाले इरानमा सैन्य हमला गर्ने तयारी गरेको हो । अमेरिकाबाटै प्रकाशन हुने तीनवटा सञ्चारमाध्यमहरूले यही साताको अन्तिममा अमेरिकाले इरानमाथि आक्रमण गर्ने योजना बनिसकेको उल्लेख गरेका छन् । अमेरिकी अखबार द न्युयोर्क टाइम्सले अमेरिकी सेनाले इरानमा हमला गर्न सम्पूर्ण तयारी पूरा गरिसकेको भनेर लेखेको छ ।
सेनाले राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्रीन सिग्नल कुरेर बसेको भनेर अमेरिकी अधिकारीहरूलाई उद्धृत गरेर न्युयोर्क टाइम्सले लेखेको छ । टेलिभिजन नेटवर्क सिएनएनले इरानमा यो शनिबारभित्रै अमेरिकाले ‘सैन्य कारबाही’ गर्न सक्ने उल्लेख गरेको छ । यो खबर सुरूमा सिबिएस न्युजले सार्वजनिक गरेको थियो। उसले उच्च राष्ट्रिय सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै ट्रम्पसमक्ष शनिबारदेखि नै आक्रमण गर्ने विकल्प तयार भइसकेको भनेर लेखेको छ ।
अमेरिकाले मध्यपूर्वमा सैन्य उपस्थितीलाई मजबुत बनाएको छ। अमेरिकी युद्धपोत अब्राहम लिंकन एक महिनादेखि नै मध्यपूर्व क्षेत्रमा तैनाथ गरिएको छ । केही दिनअघिमात्रै अमेरिकाले अर्को युद्धपोत जेराल्ड फोर्ड मध्यपूर्व क्षेत्रमा पठाएको थियो। यो जिब्राल्टरनजिक पुगिसकेको र यसले अब्राहम लिंकनसँग समन्वय गर्ने बताइएको छ। दुवै क्यारियर समूहमा विनाशक, क्रुजर र पनडुब्बीहरू समेत संलग्न छन् । दुइटा लडाकू विमानबाहक युद्धपोतबाहेक बेलायतस्थित अमेरिकी वायुसेनाको इन्धन बोक्ने दर्जनौं ट्यांकर विमान, ५० वटाभन्दा बढी अतिरिक्त लडाकू विमान पनि मध्यपूर्वमा परिचालन गरिएको छ । प्याट्रियट र थाडजस्ता क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीहरू क्षेत्रमा सारिएका छन्, जसले इरानी ब्यालिस्टिक क्षेप्यास्त्र अवरोध गर्न सक्ने अमेरिकी अधिकारीहरूको दाबी छ । अमेरिकी बी–२ बमवर्षक विमानहरू उच्च सतर्कतामा राखिएको बताइएको अधिकारीहरूले बताएका छन् ।
सम्भावित आक्रमण वा इरानी प्रतिकारको जोखिमलाई ध्यानमा राख्दै पेन्टागनले केही कर्मचारीलाई अस्थायी रूपमा युरोप वा अमेरिकातर्फ सारिरहेको पनि सिएनएनले लेखेको छ । मध्यपूर्व क्षेत्रमा सैन्य उपस्थिति तीव्र गतिमा बढाइएको अवस्थामा अब ह्वाइट हाउससँग विकल्पहरूको छनोट गर्नुपर्ने अवस्था आएको भनेर न्युयोर्क टाइम्सले लेखेको छ । जेनेभामा मंगलबार इरान र अमेरिकाबीच अप्रत्यक्ष वार्ता भएको थियो । इरानले मार्गनिर्देशक सिद्धान्तमा सहमति भएको दाबी गरे पनि अमेरिकी अधिकारीहरूले अझै ठूलो दूरी बाँकी रहेको बताएका छन्। इरानले थप प्रस्ताव ल्याउन दुई साता समय मागेको थियो । यसबीच अमेरिकी विदेशमन्त्री मार्को रूबिओ छिट्टै इसराइल भ्रमणको तयारीमा छन्। उनले इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग सम्भावित संयुक्त आक्रमणको तयारीबारे छलफल गर्ने भनिएको छ । गत वर्षको जुलाईमा मात्रै अमेरिकाले इरानमाथि हमला गरेको थियो। त्यतिबेला उसले इरानको आणविक कार्यक्रमहरूलाई लक्ष्य गरेर तीनवटा आणविक भट्टीमा जिबियू-५७ बम खसालेको थियो । त्यसबाट इरानको आणविक भट्टी कामै नलाग्नेगरी ध्वस्त भएको दाबी अमेरिकाले गरेको थियो। तर पछिल्लो समय इरानले आणविक कार्यक्रमहरू सञ्चालन गरिहेको संकेत दिने भूउपग्रह तस्बिरहरू सार्वजनिक भएका छन् । तस्बिरमा केही प्रमुख आणविक स्थलहरूमा कंक्रिट प्रयोग गरी सुरक्षाका संरचनाहरू मजबुत पारिएको देखिएको छ। यसबाट पनि इरानको आणविक कार्यक्रमहरू सञ्चालनमै रहेको भन्ने बुझिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकाले हमला गरे इरानले पनि त्यसको प्रत्युत्तर दिने चेतावनी यसअघि नै सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले दिइसकेका छन् । बुधबार आफ्नो एक्स अकाउन्टमा खामेनीले अमेरकी युद्धपोत समुद्रको पिँधमा देखाइएको एआई तस्बिर सार्वजनिक गर्दै युद्धपोतलाई डुबाउन सक्ने हतियार इरानसँग रहेको दाबी गरेका छन् । इरानले मध्यपूर्वमा रहेका अमेरकी सैन्य अड्डामा पनि निशाना बनाउने चेतावनी दिएको छ । जोन हप्किन्स विश्वविद्यालयका इरान विज्ञ वाली नासरले अहिले भइरहेको कुटनीति प्रयत्नले अमेरिकालाई अमेरिकालाई आक्रमणमका लागि मात्रै नभई इरानलाई पनि प्रतिकारका योजना तयार बनाउन समय मिल्ने बताए ।





प्रतिक्रिया दिनुहोस्