काठमाडौं – कागेश्वरी मनोहरा–९, गोठाटारस्थित अर्किड प्युपल सेकेण्डरी स्कुल को आयोजनामा अर्किड खेल मैदानमा जारी विद्यालयस्तरीय ‘अर्किड कप’ फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलहरूमा प्रतिस्पर्धात्मक प्रदर्शन देखिएको छ । विद्यालय संयोजक नरेन्द्र प्रसाद पाण्डेयका अनुसार दिनभरि भएका खेलहरू उत्साहजनक र रोमाञ्चक बनेका थिए । गेटवे एकेडेमी र ग्रीनवीचबीच भएको खेलमा गेटवे २–१ गोलले विजयी भयो। ग्रीनवीचका रोहित प्रधान उत्कृष्ट प्रदर्शन गर्दै ‘म्यान अफ द म्याच’ घोषित भए। एजिएम स्कुलले लर्ड लाइट स्कुललाई ३–१ गोल अन्तरले पराजित गर्यो। खेलमा लर्ड लाइटका थिलेन लामा ‘म्यान अफ द म्याच’ घोषित भए । एकलब्य शिक्षा सदनले किन्सलाई ५–० को फराकिलो अन्तरले हरायो। किन्सका दिवश गुरुङ उत्कृष्ट खेल प्रदर्शनका लागि ‘म्यान अफ द म्याच’ घोषित भए ।
लाइसियम र बेष्ट ग्रुप भिजन स्कुलबीचको खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टीमा लाइसियम ४–३ ले विजयी बन्यो भने बेष्ट ग्रुपका सागर श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए । विद्यावाणीले कस्तुप एकेडेमीलाई ३–० ले पराजित गर्यो। कस्तुपका अशोक चन्द उत्कृष्ट खेल प्रदर्शन गर्दै ‘म्यान अफ द म्याच’ बने। यस्तै, एकलब्य र एजिएमबीच भएको अर्को प्रतिस्पर्धात्मक खेलमा एकलब्य १–० ले विजयी हुँदा एजिएमका निखिल परियार ‘म्यान अफ द म्याच’ घोषित भए।
यसैगरी आयोजक अर्किड प्युपल सेकेण्डरी स्कुल ले लिम्पिया स्कुललाई १–० ले हरायो। लिम्पियाका अविशेक वाइवा उत्कृष्ट प्रदर्शनका लागि ‘म्यान अफ द म्याच’ घोषित भए । प्रतियोगितामा सहभागी विद्यालयहरूबीचको उत्साहजनक प्रतिस्पर्धाले विद्यार्थी खेलाडीहरूको प्रतिभा उजागर गरेको विद्यालयका प्रिन्सिपल सिबी कार्कीले बताउनुभयो। प्रतियोगिता आगामी चरणका खेलहरूसहित निरन्तर अघि बढ्ने आयोजकले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्