Skip to content

हनुमानढोका दरबार क्षेत्रमा चीर ठड्याइयो, होली पर्वको औपचारिक सुरुवात

काठमाडौँ – काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याइएसँगै यस वर्षको होली पर्व औपचारिक रूपमा सुरु भएको छ। आज बिहान ७ बजेर १३ मिनेटको शुभ साइतमा चीर ठड्याइएको हो । रङ्गीचङ्गी कपडाहरू झुन्ड्याइएको टुप्पोमा मयलको रुखको हाँगा बाँधिएको करिब ३२ फिट अग्लो तीनखण्डे बाँसको चीर ठड्याइएको थियो। चीर ठड्याएपछि उपस्थित सर्वसाधारणले परिक्रमा गर्दै एक–आपसमा अबीर छ्यापी हर्षोल्लासका साथ होली मनाउन थालेका छन् । यस अवसरमा गुरुजुको पल्टनले हर्षबढाइँ प्रस्तुत गरेको थियो। चीर उठाइएको दृश्य अवलोकन गर्न वसन्तपुर क्षेत्रमा सर्वसाधारणको उल्लेख्य भीड लागेको थियो । नेपाल पञ्चाङ्ग निर्णायक समितिले तोकेको शुभ साइतअनुसार फागुन शुक्ल अष्टमीका दिन चीर ठड्याउने परम्परा छ। यही दिनदेखि काठमाडौँ उपत्यकालगायत देशभर होलीको रौनक सुरु हुने विश्वास गरिन्छ । तीनतले चीरलाई फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर दहन गरेपछि होली पर्व सम्पन्न भएको मानिन्छ । यस वर्ष होली काठमाडौँलगायत पहाडी जिल्लामा फागुन १८ गते तथा तराई–मधेशका जिल्लामा फागुन १९ गते परेको छ। सरकारले होली पर्वका अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्