काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगका अनुसार आवश्यक मतपत्र, मतपेटिका तथा अन्य निर्वाचन सामग्री सबै मतदान केन्द्रमा पु¥याइसकिएको छ भने सुरक्षालगायतका प्रबन्ध पनि मिलाइसकिएको छ।
भोलि हुने निर्वाचनका लागि मतदान केन्द्र निर्माण, व्यवस्थापन, पहुँच सुनिश्चितता, लैङ्गिक तथा अपाङ्गमैत्री व्यवस्था र कर्मचारी परिचालनसमेतको तयारी सम्पन्न भइसकेको आयोगले जनाएको छ। शान्ति–सुरक्षाको भरपर्दो व्यवस्था गरिएकाले ढुक्क भएर मताधिकार प्रयोग गर्न आयोगले अपिल गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्तलगायत पदाधिकारीले आज पत्रकार सम्मेलनमार्फत संवैधानिक दायित्वअनुसार स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वसनीय निर्वाचन गराउन आयोग क्रियाशील रहेको जानकारी दिएका हुन्।
कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले भन्नुभयो, “निर्वाचन केवल आफ्ना प्रतिनिधि छान्ने वा सरकार गठन गर्ने प्रक्रिया मात्र होइन, लोकतन्त्रको वैधता नवीकरण गर्ने संवैधानिक अभ्याससमेत हो। लोकतन्त्रको सुदृढीकरणका लागि हुने मतदान नागरिकको अधिकार र दायित्व दुवै हो। आफ्नो मताधिकार प्रयोग गर्नु संवैधानिक र कानुनी अधिकार मात्र होइन, लोकतान्त्रिक नागरिकको जिम्मेवारी हो।” उहाँले यसअघि परेका उजुरीबाहेक हालसम्म अन्य उम्मेदवारको अयोग्यतासम्बन्धी कुनै नयाँ उजुरी नपरेको र छानबिनको क्रममा नरहेको स्पष्ट पार्नुभयो।
गणना सुरु भएको २४ घन्टाभित्र नतिजा दिने तयारी
आयोगले मतगणना सुरु भएको २४ घन्टाभित्र प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक गर्ने गरी व्यवस्था मिलाइएको जनाएको छ। त्यसलगत्तै समानुपातिकतर्फको मतगणना सुरु गरिनेछ। दुर्गम पहाडी जिल्लाका ६१ स्थानबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत मतपेटिका संकलन गरिने र अन्य स्थानबाट सवारीसाधनमार्फत संकलन गरिने आयोगका सचिव कृष्णबहादुर राउतले जानकारी दिनुभयो।
मतपत्र र मतपेटिकाको सुरक्षा तथा संकलन विगतझैँ एकीकृत सुरक्षा योजनाअनुसार हुने भएकाले मतपेटिका सुरक्षित रहने आयोगको भनाइ छ। “मतपेटिका संकलन पहिलेकै व्यवस्था अनुसार हुन्छ, नेपाली सेनाले छुट्टै संकलन गर्ने होइन। मतपेटिका किञ्चित साटफेर हुँदैन, यसमा शंका गर्नुपर्दैन,” कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भन्नुभयो। कतिपय जिल्लामा उम्मेदवारहरू पैसा तथा मादक पदार्थ बोकेर मतदाता प्रभावित गर्न खोजेको आशंकामा पक्राउ परेका छन्। यस्ता गतिविधिप्रति आयोगले शून्य सहनशीलताको नीति लिएको पनि उहाँले स्पष्ट पार्नुभयो।
उम्मेदवार र मतदाता विवरण
यस निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फ ६१ निर्वाचन चिह्नमा ६५ राजनीतिक दल प्रतिस्पर्धामा छन्। प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार मैदानमा छन्।समानुपातिकतर्फ एक हजार ३६३ पुरुष र एक हजार १,७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार रहेका छन्। प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुँदैछ। यसपटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम छन्। साथै एक लाख ८६ हजार १४२ अस्थायी मतदाता रहेका छन्।





प्रतिक्रिया दिनुहोस्