Skip to content

मतदान प्रक्रियामा उत्साहपूर्वक सहभागी हुन निर्वाचन आयोगको आग्रह

काठमाडौँ, फागुन २० गते । निर्वाचन आयोगले बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान प्रक्रियामा उत्साहपूर्वक सहभागी हुन नागरिकलाई आग्रह गरेको छ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदानमार्फत नागरिकले नीति, नेतृत्व र शासनबारे आफ्नो अभिव्यक्ति दिने तथा समावेशी एवं उत्तरदायी राज्य निर्माणमा प्रत्यक्ष योगदान पुर्‍याउने भएकाले यस ऐतिहासिक लोकतान्त्रिक अभ्यासमा सक्रिय सहभागिता जनाउन अपिल गर्नुभयो।

उहाँले भन्नुभयो, “निर्वाचन केवल आफ्ना प्रतिनिधि चुन्ने वा सरकार गठन गर्ने प्रक्रिया मात्र होइन, लोकतन्त्रको वैधता नवीकरण गर्ने संवैधानिक अभ्याससमेत हो। लोकतन्त्रको सुदृढीकरणका लागि हुने मतदान नागरिकको अधिकार र दायित्व दुवै हो। आफ्नो मताधिकार प्रयोग गर्नु संवैधानिक/कानुनी अधिकार मात्र होइन, लोकतन्त्रप्रतिको नागरिकको जिम्मेवारी हो।”

प्रवक्ता भट्टराईका अनुसार फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने मतदानका लागि आवश्यक मतपत्र, मतपेटिका तथा अन्य निर्वाचन सामग्री सबै मतदान केन्द्रमा पुर्‍याइसकिएको छ।

मतदान तयारीकै क्रममा रामेछापमा निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामग्री लिएर मतदान केन्द्रतर्फ जाँदै गर्दा भएको सवारी दुर्घटनामा सुरक्षाकर्मी तथा मतदान अधिकृतको निधन भएको घटनाप्रति आयोगले दुःख व्यक्त गरेको छ। साथै सर्लाही, मुस्ताङकञ्चनपुरमा पनि मतदान अधिकृत तथा निर्वाचन प्रहरीको निधन भएको घटनाप्रति आयोगले गहिरो समवेदना प्रकट गरेको छ।

प्रतिक्रिया दिनुहोस्