बर्दिया, फागुन २० गते । बर्दिया जिल्लामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ।
राजापुर नगरपालिका–१०, कालाबन्जरका शिशिर थारूका ६ वर्षीय छोरा आदित्य चौधरी आँगनमा खेलिरहेको समयमा चितुवाले आक्रमण गर्दा गम्भीर घाइते भएका थिए। उपचारका लागि बर्दिया अस्पताल लगिएको भए पनि बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिनुभयो। बालकको शव हाल बर्दिया अस्पतालमै राखिएको छ।
बालकलाई आक्रमण गर्ने चितुवालाई धपाउने क्रममा अन्य तीन जना स्थानीयसमेत घाइते भएका छन्। घाइते हुनेमा राजापुर नगरपालिका–१०, कालाबन्जरका ४१ वर्षीय कृतिमान थारू, सोही उमेरका धनीराम थारू र ३८ वर्षीय श्यामलाल थारू रहेका छन्। घाइतेमध्ये दुई जनाको अवस्था सामान्य रहेको र श्यामलालको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई थप उपचारका लागि नेपालगन्ज पठाइएको छ।
जिल्लामा चालू आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता रहेका छन्। मृत्यु हुनेमध्ये नौ जना चितुवाको आक्रमणमा परेका हुन्।





प्रतिक्रिया दिनुहोस्