Skip to content

अफगानिस्तानमा हरित क्षेत्र विस्तारको नयाँ कार्यक्रम

काबुल, फागुन २० गते । अफगानिस्तान सरकारले वातावरण संरक्षण र हरित क्षेत्र विस्तारलाई उच्च प्राथमिकतामा राख्दै देशव्यापी वृक्षारोपण अभियान सुरु गरेको छ । उक्त अभियान एक महिनासम्म सञ्चालन हुनेछ र यस अन्तर्गत देशभर एक करोड ९० लाख बिरुवा रोप्ने लक्ष्य राखिएको छ ।

सरकारले जनाएको अनुसार अभियानले मात्र वन क्षेत्र विस्तार नगरी, जलवायु परिवर्तनका प्रतिकूल प्रभाव न्यूनीकरण गर्ने, माटो संरक्षण गर्ने र प्राकृतिक विपदका जोखिम कम गर्ने महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । अभियान अन्तर्गत सबै नागरिक, स्थानीय समुदाय र सरकारी निकायलाई कम्तीमा एक-एक बिरुवा रोपेर यस अभियानमा सक्रिय सहभागिता जनाउन आह्वान गरिएको छ ।

अफगानिस्तानमा लामो समयसम्म चलेको द्वन्द्व, अवैध कटानी र अन्य मानवीय तथा प्राकृतिक कारणले हजारौं हेक्टर वन क्षेत्र नष्ट भएको छ । यसले बाढी, पहिरो, माटो कटान र अन्य प्राकृतिक विपदका घटना बढाएको छ । अफगान सरकारले विगत चार वर्षमा १० करोडभन्दा बढी बिरुवा रोपिसकेको जनाएको छ ।

यसले वातावरणीय सन्तुलन पुनः स्थापना, जैविक विविधता संरक्षण र कृषि उत्पादनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ । अधिकारीले अभियानलाई दीर्घकालीन हरित विकास रणनीतिसँग जोडिएको महत्वपूर्ण कदमको रूपमा व्याख्या गरेका छन् र भविष्यमा पनि हरित क्षेत्रको संरक्षण तथा विस्तारलाई निरन्तरता दिने योजना रहेको बताएका छन् । यस अभियानले देशभरको जनचेतना पनि वृद्धि गर्ने अपेक्षा गरिएको छ, जसले नागरिकलाई वातावरण संरक्षण, प्राकृतिक स्रोतको सदुपयोग र दीगो विकासमा सक्रिय बनाउने विश्वास गरिएको छ । रासस/सिन्ह्वा 

प्रतिक्रिया दिनुहोस्