Skip to content

टोक्सेलमा अस्पतालको माग : सातसल्ले मतदान केन्द्रमा बिहानसम्म शून्य मतदान

ओखलढुङ्गा – मानेभन्ज्याङ गाउँपालिका–७ स्थित सातसल्ले मतदान केन्द्रमा बिहान ११:३० बजेसम्म एक जना पनि मतदाताले मतदान गरेका छैनन्। मतदानका लागि सम्पूर्ण तयारी पूरा भए पनि मतदाता उपस्थित नहुँदा बिहानको समय शून्य मतदानमै बितेको हो।

मतदान अधिकृत परबासी राईका अनुसार मतदान केन्द्रमा कर्मचारी, सुरक्षा व्यवस्था लगायत सबै तयारी अवस्थामा रहेका छन्। तर स्थानीय स्तरमा देखिएको असन्तुष्टिका कारण मतदाता उपस्थित नभएको जनाइएको छ।

स्थानीयका अनुसार टोक्सेल क्षेत्रमा प्रादेशिक अस्पताल निर्माणका लागि १६७ रोपनी जग्गा निःशुल्क उपलब्ध गराइएको थियो। सोही आधारमा अस्पतालको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भए पनि निर्माणका लागि आवश्यक बजेट विनियोजन नभएपछि जनप्रतिनिधिप्रति असन्तुष्टि बढेको हो।

यस विषयलाई लिएर स्थानीय माधव ढुङ्गानाको नेतृत्वमा सङ्घर्ष समिति गठन गरिएको छ। समितिले अस्पताल निर्माणका लागि बजेट सुनिश्चित नभएसम्म मतदानमा सहभागी नहुने निर्णय गरेको बताइएको छ।

उक्त निर्णयको प्रभाव मतदान केन्द्रमा देखिएको स्थानीयहरूले बताएका छन्। हिजो चार राजनीतिक दलले पनि स्थानीयको माग र भावनाअनुसार मतदान कार्य बहिष्कार गर्ने बताएका थिए। तथापि, इच्छुक मतदाताले मतदान गर्न चाहे कसैले अवरोध नगर्ने सहमति भएको जनाइएको छ।

मतदान प्रक्रिया दिनभर कसरी अघि बढ्छ भन्ने विषयमा सबैको ध्यान केन्द्रित रहेको छ।

प्रतिक्रिया दिनुहोस्