काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउन भूमिका निर्वाह गर्ने सबै सुरक्षा निकाय तथा सम्बन्धित पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
गृह मन्त्रालयमा आज भर्चुअल माध्यमबाट आयोजित निर्वाचन सुरक्षा समीक्षा बैठकमा मन्त्री अर्यालले केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको योगदानको प्रशंसा गर्नुभयो । बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, चारवटै सुरक्षा निकायका प्रमुख, मन्त्रालयका महाशाखा प्रमुख, प्रदेश कमाण्ड पोष्टका पदाधिकारी तथा ७७ वटै जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
बैठकमा मन्त्री अर्यालले केन्द्रदेखि फिल्डसम्म खटिएका कर्मचारीहरूको सामूहिक प्रयासका कारण रक्तपातविहीन ऐतिहासिक निर्वाचन सम्पन्न भएको उल्लेख गर्नुभयो । निर्वाचनपछि संविधानले सही बाटो समातेको र राजनीतिक सुशासनको जग बसालिएको बताउँदै उहाँले यस उपलब्धिमा सबै तह र तप्कामा रहेका कर्मचारीहरूको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
त्यसैगरी गृहसचिव श्रेष्ठले सबैले आफ्नो व्यावसायिक निष्ठा कायम गर्दै निष्पक्ष रूपमा जिम्मेवारी पूरा गरेकाले अन्तर्राष्ट्रिय पर्यवेक्षकबाट उच्च प्रशंसा प्राप्त भएको बताउनुभयो ।
भर्चुअल बैठकमा सहभागी प्रदेश कमाण्ड पोष्ट तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले निर्वाचन सुरक्षा व्यवस्थापनका क्रममा प्राप्त अनुभवहरू साझा गर्नुभएको थियो । उनीहरूले विगत ३० वर्षमा भएका निर्वाचनमध्ये यसपटकको निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित र त्रुटिरहित रूपमा एकैसमयमा सम्पन्न भएको उल्लेख गर्दै यस सफलतामा गृहमन्त्री अर्यालको कुशल नेतृत्व र अभिभावकत्वको प्रशंसा गरेका थिए ।





प्रतिक्रिया दिनुहोस्