काठमाडौँ – नेपाली उपभोक्ताले पछिल्लो समय सहज रूपमा खाना पकाउने एलपी ग्यास पाउन सकेका छैनन्। नेपाल आयल निगमले बजारमा नियमित आपूर्ति भइरहेको दाबी गरे पनि सर्वसाधारण भने ग्यासका लागि लामो लाइन बस्न बाध्य भएका छन् । यसैबीच, नेपाल आयल निगमले शुक्रबारदेखि बजारमा आधा सिलिन्डर मात्र ग्यास वितरण गर्ने निर्णय गरेको छ। निगमका अनुसार आधा सिलिन्डर ग्यासको मूल्य पनि साविक मूल्यको आधा नै तोकिएको छ ।
इरानमा बढ्दै गएको द्वन्द्वका कारण पेट्रोलियम पदार्थ बोकेर आउने जहाजमाथि आक्रमण हुन थालेपछि विश्वव्यापी आपूर्ति श्रृंखला प्रभावित भएको छ। यसको प्रत्यक्ष असर नेपालमा खाना पकाउने ग्यास अभावका रूपमा देखिन थालेको छ । काठमाडौँसहित देशका विभिन्न स्थानमा उपभोक्ताहरू बिहानैदेखि ग्यासका लागि लाइनमा बसिरहेका छन्। तर धेरैजसो उपभोक्ता खाली सिलिन्डर लिएरै घर फर्किन बाध्य भएका छन् ।
भारतमा भने अवस्था केही फरक देखिएको छ। त्यहाँ आधार कार्ड प्रणालीमार्फत घरेलु उपभोक्तालाई प्राथमिकता दिइएकाले ग्यास अभाव तुलनात्मक रूपमा कम देखिएको छ। होटल तथा रेस्टुरेन्टमा केही समस्या भए पनि घरपरिवारमा ग्यास आपूर्ति व्यवस्थित रूपमा पुगेको बताइएको छ ।
नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार नेपालमा व्यवस्थापन प्रणाली कमजोर हुँदा कालोबजारी र उपभोक्ताले आवश्यकता भन्दा बढी ग्यास जम्मा गरेर राख्ने प्रवृत्तिले संकटलाई अझ गम्भीर बनाएको छ । यसैबीच निगमले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास संग्रह नगर्न आग्रह गरेको छ। सम्भावित अभावको अवस्थालाई ध्यानमा राख्दै सकेसम्म विजुली चुल्हो, इन्डक्सन र इन्फ्रारेड चुल्हो प्रयोग गर्न पनि अनुरोध गरिएको छ ।
निगमका अनुसार इरानको द्वन्द्व लम्बिएमा नेपालमा ग्यास मात्र होइन अन्य पेट्रोलियम पदार्थको समेत अभाव हुन सक्ने सम्भावना रहेको छ। त्यसैले इन्धनको खपत कम गर्न, विजुलीका लागि जेनेरेटर प्रयोग नगर्न र औद्योगिक क्षेत्रमा पनि इन्धन प्रयोग घटाउन आग्रह गरिएको छ । भारतले डिजिटल प्रणाली प्रयोग गरेर संकटलाई आंशिक रूपमा नियन्त्रण गरेको उदाहरण दिँदै निगमले नेपालमा पनि तत्काल सुधारात्मक कदम चाल्न सरकारसँग आग्रह गरेको छ ।





प्रतिक्रिया दिनुहोस्