गण्डकी – नेपाल पर्यटन बोर्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्ने तयारी गरेको छ ।
पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई गण्डकी प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यबारे जानकारी दिनुका साथै यात्रामा सहजीकरण गर्ने उद्देश्यले उक्त केन्द्र स्थापना गर्न लागिएको हो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेका अनुसार नागरिक उड्डयन कार्यालय र पर्यटक प्रहरीसँगको सहकार्यमा केन्द्र सञ्चालन गरिनेछ ।
केन्द्रमा पर्यटन बोर्डका कर्मचारीसँगै दुई जना पर्यटक प्रहरी पनि खटाइने व्यवस्था गरिएको छ, जसले पर्यटकलाई आवश्यक जानकारी र सहयोग प्रदान गर्नेछन् ।
पर्यटन राजधानीका रूपमा परिचित पोखरा स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य रहँदै आएको छ । सूचना केन्द्र सञ्चालनमा आएपछि यहाँ आउने पर्यटकले थप सहज र व्यवस्थित सेवा पाउने विश्वास गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्