काठमाडौँ – हावाहुरी सहित आएको पानी र असिनाले त्रिभुवन विमानस्थल सहित नेपालका धेरै विमानस्थल प्रभावित भएका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित देशभरका विभिन्न विमानस्थलमा हवाई उडान र अवतरणमा समस्या हुँदा उडानहरू प्रभावित भएका छन् । वर्षा र मेघ गर्जनसहितको मौसमका कारण उडान सुरक्षामा चुनौती देखिएपछि जहाजहरूले सुरक्षित रूपमा अवतरण गर्न सकेका छैनन् । विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार विमानस्थल प्राविधिक रूपमा खुला रहे पनि प्रतिकूल मौसम र कम भिजिबिलिटी कारण जहाजहरू उडान र अवतरण गर्न नसकेका हुन् ।
भारतबाट काठमाडौँका लागि उडेको इन्डिगो एयरलाइन्सको जहाज अवतरण गर्न नसकेपछि लखनउ डाइभर्ट गरिएको छ। त्यस्तै, कतारको दोहाबाट आएको कतार एयरवेजको जहाज पनि नेपालको आकाशमा होल्डमा रहेको छ । प्रवक्ता बस्नेतका अनुसार यदि केही समयमा मौसममा सुधार नआएमा यसलाई पनि अन्यत्र डाइभर्ट गर्नुपर्ने अवस्था सिर्जना हुन सक्छ । हाल आकाशमा एउटा मात्र जहाज होल्डमा रहेको र अरू जहाजहरू डाइभर्ट भइसकेको अवस्था छ ।काठमाडौँका लागि विभिन्न सहरबाट उडेका जहाजहरू गन्तव्यमा पुग्न नसकी बिच बाटोबाटै वा काठमाडौँको आकाशबाटै सम्बन्धित विमानस्थलमै फर्किएका छन् । विराटनगर, सिमरा, धनगढी र भैरहवाबाट काठमाडौँका लागि उडेका जहाजहरू मौसम प्रतिकूल भएपछि पुनः आ–आफ्नै पुरानो स्टेसनमै डाइभर्ट भएका छन् । विमानस्थलको भिजिबिलिटी हाल ३ हजार मिटरको हाराहारीमा भए पनि वर्षा र मेघ गर्जनका कारण ’एप्रोच’ गर्न कठिन भएको र जहाजहरूले जोखिम नलिई पुरानै गन्तव्य रोजेको बस्नेतले बताए । प्रवक्ता बस्नेतका अनुसार हरेक जहाज र एयरलाइन्सको आफ्नै ‘स्टान्डर्ड अपरेटिङ प्रोसिजर’ हुन्छ र जहाजमा हुने वेदर राडारले जोखिमको सङ्केत गरेपछि पाइलटहरूले अवतरण नगर्ने निर्णय लिन्छन् । विशेष गरी दक्षिणतर्फको मौसम बढी बिग्रिएकाले जहाजहरूले धावनमार्ग समात्न नसकेको देखिएको छ ।





प्रतिक्रिया दिनुहोस्