Skip to content

चैते दसैँ आज मनाइँदै, देशभर शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज देशभर नवदुर्गा भगवतीको पूजा–आराधना गर्दै श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ  । हिन्दू धर्मअनुसार वर्षमा चार नवरात्र पर्ने भए पनि आसाढ र पुस महिनाका नवरात्र धेरै प्रचलनमा छैनन् । असोज शुक्ल पक्षमा पर्ने नवरात्र भने विशेष महत्वका साथ मनाइने भएकाले त्यसलाई बडादसैँ भनिन्छ। बडादसैँमा घटस्थापना गरेर जमरा राख्ने र दशमीका दिन टीका–प्रसाद ग्रहण गर्ने परम्परा रहिआएको छ । चैते दसैँमा भने अधिकांश परिवारमा टीका–जमरा लगाउने चलन कम भए पनि अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीका दिनलाई चैते दसैँका रूपमा तथा नवमीलाई भगवान श्रीरामको जन्मदिनका रूपमा रामनवमी मनाइन्छ ।

राजधानीको हनुमानढोका दरबार क्षेत्रस्थित दसैँघरमा घटस्थापना गरी विधिपूर्वक पूजा आराधना गरिँदै आएको छ भने अष्टमीका दिन बलि दिने परम्परा पनि कायम छ । चैते दसैँका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठमा भक्तजनको उल्लेख्य भीड लागेको छ । गुह्येश्वरी मन्दिर, मैतीदेवी मन्दिर, नक्साल भगवती मन्दिर, भद्रकाली मन्दिर, कालिकास्थान मन्दिर लगायतका मन्दिरमा विशेष पूजा तथा दर्शनको व्यवस्था गरिएको छ । त्यस्तै उपत्यका बाहिर मनकामना मन्दिर, पलाञ्चोक भगवती मन्दिर, शैलेश्वरी मन्दिर लगायत शक्तिपीठमा पनि विशेष पूजाआजा भइरहेको छ । धार्मिक मान्यताअनुसार चैत्र नवरात्रका अवसरमा शक्तिपीठमा पूजा–दर्शन गरेमा शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने र पारिवारिक सुख–शान्ति प्राप्त हुने विश्वास रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस्