काठमाडौं – पश्चिमी वायु पुनः सक्रिय हुने संकेतसँगै देशभर मौसम बदली भई वर्षा हुने सम्भावना देखिएको छ । मौसम पूर्वानुमान मोडेलहरूले यस प्रणालीको प्रभावले पूर्वदेखि पश्चिमसम्म हल्कादेखि मध्यम खालको वर्षा हुने संकेत गरेका छन्, यद्यपि पूर्वी नेपालमा प्रभाव बढी र पश्चिममा तुलनात्मक रूपमा कम रहने अनुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी शुक्रबार र शनिबार देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना छ । वरिष्ठ मौसमविद बरुण पौडेलका अनुसार काठमाडौं उपत्यकामा पनि ती दिनहरूमा हल्कादेखि मध्यम वर्षा हुने प्रक्षेपण गरिएको छ । मौसमविद बिनु महर्जनका अनुसार बिहीबारदेखि नै नयाँ प्रणालीको संकेत देखिन थाल्नेछ । “शुक्रबार र शनिबार धेरै ठाउँमा पानी पर्ने सम्भावना छ,” उनले भनिन्। प्रिमनसुनको समय भएकाले हावाहुरी र चट्याङका घटना बढ्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन सुझाव दिइएको छ । नयाँ प्रणालीका कारण काठमाडौं उपत्यकामा पनि हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ । यद्यपि डाँडाकाँडाले घेरिएको भौगोलिक बनावटका कारण तराईको तुलनामा ठूलो हुरी चल्ने सम्भावना कम रहेको जलवायु अध्येता डा. धर्मराज उप्रेतीले बताए ।
उनका अनुसार भारतको बिहार र उत्तर प्रदेश क्षेत्रबाट प्रणाली नेपाल प्रवेश गर्ने भएकाले लुम्बिनी र चितवन आसपासका क्षेत्रमा यसको प्रभाव केही बढी देखिन सक्छ । तर काठमाडौंमा भने मध्यम खालको असर मात्र पर्ने अनुमान गरिएको छ । उच्च पहाडी तथा हिमाली जिल्लाहरूमा वर्षासँगै हिमपातको सम्भावना पनि रहेको छ। यसअघि चैत ६ र ७ गते परेको वर्षा, असिना र हुरीका कारण केही स्थानमा क्षति भए पनि कृषिमा भने आंशिक राहत पुगेको थियो । मौसमविदहरूले यसपटकको प्रणाली अघिल्लोभन्दा कम शक्तिशाली हुने बताएका छन्। विभिन्न अन्तर्राष्ट्रिय मौसम मोडेलहरूले पनि हल्कादेखि मध्यम वर्षा हुने देखाएका छन् । भारतमा भने यस प्रणालीको प्रभाव बढी पर्ने अनुमान गरिएको छ। भारतीय मौसम विभागले केही राज्यहरूमा मध्यम जोखिमको चेतावनी जारी गरेको छ । उत्तर भारतका हिमाली क्षेत्रमा हिमपात तथा पञ्जाब, हरियाणा, दिल्ली र उत्तर प्रदेशका केही भागहरूमा हावाहुरीसहित वर्षा हुने सम्भावना छ । यस प्रणालीको प्रभावले नेपालको तापक्रममा पनि गिरावट आई केही दिन चिसो महसुस हुने पूर्वानुमान गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्