Skip to content

स्वास्थ्य बीमा : भुक्तानी रोकिँदा आर्थिक दबाबमा निजी अस्पताल

काठमाडौं – सरकारले स्वास्थ्य बीमा बापतकाे रकम समयमै भुक्तानी नदिँदा निजी अस्पतालमा आर्थिक दबाब बढ्न थालेको छ । नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजले मात्रै स्वास्थ्य बीमाबापत करिब १०० करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको कलेजकी अध्यक्ष सोईना शर्माले बताएकी छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले नेपाल सरकारअन्तर्गत सञ्चालित बीमा तथा विपन्न कार्यक्रमबाट दुई अस्पतालबाट मात्रै झन्डै १०० करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको जानकारी दिएकी हुन् । उनका अनुसार बीमा कार्यक्रमअन्तर्गत मात्रै दैनिक करिब ८०० ओपीडी तथा २०० भन्दा बढी आईपीडी बिरामीलाई सेवा प्रदान गरिँदै आएको छ । यस्तो अवस्थामा सरकारबाट भुक्तानी नआउँदा अस्पतालको सेवा प्रवाह नै प्रभावित हुने जोखिम बढेको उनले उल्लेख गरेकी छन् । शर्माले अस्पतालमा प्रयोग हुने औषधि, कन्जुमेबल तथा अन्य सामग्री सरकारको गोदामबाट उपलब्ध नहुने र बजारबाट खरिद गर्नुपर्ने भएकाले समयमै भुक्तानी नहुँदा आर्थिक व्यवस्थापनमा गम्भीर समस्या उत्पन्न हुने बताइन्।

उनले लेखेकी छन्, “भुक्तानी रोक्ने पनि सरकार, सेवा नरोक भन्ने पनि सरकार, अनि दोष चाहिँ अस्पताललाई ? यस्तो दोहोरो चरित्रले स्वास्थ्य सेवा मात्रै होइन, सिङ्गो स्वास्थ्य प्रणाली नै प्रभावित हुन्छ ।” सम्झौताअनुसार सेवा प्रदायक संस्थाले सेवा दिने र सरकार तथा बीमा बोर्डले समयमै भुक्तानी गर्ने दायित्व स्पष्ट रूपमा उल्लेख रहेको स्मरण गराउँदै उनले भुक्तानी प्रक्रिया तत्काल व्यवस्थित गर्न सरकारसँग आग्रह गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्