काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिबारे भ्रामक र झूटा प्रचारबाजी भएको दाबी गरेका छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ पुर्जी जारी भएको विषयमा बुधबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत वक्तव्य जारी गर्दै देउवाले उक्त दाबी गरेका हुन् ।
‘म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरू गरिएको भन्ने जानकारी सञ्चार माध्यमबाट थाहा पाएँ,’ उनले फेसबुकमा लेखेका छन्, ‘भ्रामक र झूटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु ।’
अहिले आफूहरू स्वास्थ्य उपचार निम्ति विदेशमा रहेको उल्लेख गर्दै देउवाले उपचार जारी रहेको जानकारी दिएका छन् । ‘वास्तविकता समयक्रमसँगै खुल्दै जाने नै छ। अतिरञ्जना गरी सार्वजिनक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गर्छु,’ उनले लेखेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ पुर्जी जारी भइसकेको छ । गत भदौ २४ गते बूढानीलकण्ठस्थित देउवाको घरमा आगजनी भएको थियो। देउवा दम्पती घाइते भएका थिए । घरमा केही भाग जलेको अवस्थामा पैसा पनि भेटिएको भन्दै भिडिओहरू सार्वजनिक भएका थिए। देउवा दम्पती अहिले स्वास्थ्य उपचार सिलसिलामा हङकङमा छन् ।
देउवाले आफ्नो वक्तव्यमा नेपालको कानुन अनुसार आफू र आफ्नी पत्नीले सार्वजनिक पदमा रहँदा सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेस गरेको पनि उल्लेख गरेका छन् । ‘देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शितासँगै राज्यका अंगहरू स्वतन्त्र र सक्षम हुनुपर्छ भन्ने मान्यताका लागि मैले सिंगो जीवन संघर्षमै व्यतीत गरेको हुँ,’ उनी लेख्छन्, ‘मेरो जीवन एउटा खुल्ला पुस्तकका रूपमा रहेको छ ।’ उनी अगाडि लेख्छन्, ‘भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शिता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको सर्वविदित नै छ ।’





प्रतिक्रिया दिनुहोस्