Skip to content

रवि लामिछानेलाई रक्षा बमको प्रश्न-सुकुम्बासी बस्तीमा भोलि छाती थाप्न आउनुहुन्छ नि ?

काठमाडौँ – सुकुम्बासी बस्ती भत्काउने निर्णयप्रति असन्तुष्टि जनाउँदै जेनजी अगुवा रक्षा बमले रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै सार्वजनिक रूपमा प्रश्न उठाएकी छन् । उनले सामाजिक सञ्जालमार्फत् “भोली छाती थाप्न आउनुहुन्छ नि यहाँ ?” भन्दै प्रत्यक्ष संवादको माग गरेकी हुन् ।

बमले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति निराशा व्यक्त गर्दै सुकुम्बासीलाई भोट बैंकका रूपमा मात्र प्रयोग गरिएको आरोप लगाएकी छन् । ‘तपाईंको पार्टीलाई भोट दिनु नै गल्ती भएछ भन्ने आवाज आइरहेको छ’, उनले लेखेकी छन् । उनले वर्षौंदेखि बसोबास गर्दै आएका सुकुम्बासी समुदाय अहिले त्रासमा रहेको उल्लेख गर्दै पार्टी सभापति लामिछानेलाई प्रत्यक्ष रूपमा बस्तीमै आएर कुरा गर्न चुनौती दिएकी छन् । ‘आज सुकुम्बासी बस्ती आतंकित छ, सभापति ज्यू-सिधा कुरा सुकुम्बासीसँग कहिले गर्नुहुन्छ ?’, भन्ने प्रश्नसमेत उनले उठाएकी छन् । सुकुम्बासी बस्ती हटाउने विषयलाई लिएर पछिल्ला दिनमा विवाद बढ्दै गएको छ । प्रभावित समुदायले वैकल्पिक व्यवस्था बिना बस्ती हटाउने निर्णय अन्यायपूर्ण भएको भन्दै विरोध जनाउँदै आएका छन् । काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्तीमा वैशाख १२ गते बिहान ६ बजेदेखि बस्ती खाली गराइने भन्दै प्रहरीले आज साँझ माइकिङ गरेकाे थियाे । यसले बस्तीमा आतंक फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्