Skip to content

काँग्रेसले आज संसदीय दलको नेता चयन गर्दै

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले शुक्रबार संसदीय दल नेता चयन गर्दैछ । विहीबारदेखि अघि बढेको निर्वाचन प्रक्रियाअन्तर्गत आज मध्याह्न मनोनयन दर्ता र अपराह्न मतदान गर्ने कार्यतालिका छ । कांग्रेसले सहमतिकै आधारमा दल नेता चयन गर्ने प्रयास पनि गरिरहेको छ । सहमति नजुटे निर्वाचनबाटै दल नेता चयन हुनेछ । पार्टीले सांसदहरूसँग यस विषयमा छलफल गर्न महामन्त्री प्रदीप पौडेल लगायतलाई जिम्मेवारी दिएको छ ।

संसदीय दल नेताका लागि पूर्वसहमहामन्त्रीहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य दाबेदार छन् । फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी कांग्रेसले ३८ सिट जितेको थियो । ‘दल नेताको आकांक्षी धेरै भए पनि मुख्य गरी ३ जनाले दाबेदारी प्रस्तुत गर्नुभएको छ, पार्टीले सहमतिका लागि प्रयास गर्दैछ, सहमति नभए निर्वाचन कार्यतालिकाअनुसार भोलि अपराह्न मतदान हुनेछ,’ कांग्रेसका एक सांसदले भने । कांग्रेसभित्र प्रत्यक्षतर्फबाट आएकालाई संसदीय दल नेता बनाउन पनि कतिपय सांसदहरूले माग गरेका छन् । केसी र आङ्देम्बे समानुपातिकतर्फबाट प्रतिनिधि सभा सांसद भएका हुन् । विशेष महाधिवेशनले पार्टी रूपान्तरण र पुस्तान्तरणको सन्देश दिएकोले युवा सांसदहरूलाई अगाडि सार्नुपर्ने मत पनि छ ।

त्यसअनुसार योगेश गौचन थकाली, निश्कल राई, बासना थापा लगायतलाई पनि संसदीय दल नेता आकांक्षीका रूपमा हेरिएको ती सांसदले बताए । तर वरिष्ठ नेताहरूलाई संसदीय दल नेता बनाएर युवा सांसदलाई प्रमुख सचेतक र सचेतक बनाउने गरी पनि छलफल भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्