Skip to content

मनोहरामा प्रहरीमाथि ढुंगामुढा भएपछि आईजिपी नै पुगे फिल्डमा

काठमाडौँ –  काठमाडौंको मनोहरा नदी किनारका सुकुम्वासी नागरिकलाई व्यवस्थापन गर्न खटिएको प्रहरी टोलीमाथि आक्रमण भएपछि प्रहरी महानिरीक्षक दान बहादुर कार्की नै फिल्डमा पुगेका छन । शनिवार थापाथली र गैरीगाउँस्थित सुकुम्वासी बस्ती व्यवस्थापन पश्चात मनोहरा खोला किनारको अतिक्रमित संरचना व्यवस्थापन गर्न पुगेका प्रहरीमाथि स्थानीयद्धारा ढुंगामुढा भएको थियो । उक्त आक्रमणबाट करिब १ दर्जन प्रहरी घाईते भएका थिए भने स्थिति तनावपूर्ण बनेपछि प्रहरीले कुनै प्रतिकार नगरी त्यहाँबाट फर्किएको थियो ।

आइतबार बिहानैदेखि नेपाल प्रहरी पुनः उक्त क्षेत्रमा परिचालन भई अतिक्रमण हटाउने कामलाई निरन्तरता दिइरहेको छ । यसैबीच स्थिति पुनः तनावग्रस्त हुने संकेत देखिएपछि प्रहरीको मनोबल उच्च राख्न तथा स्थानीयसँग समन्वय र संवादलाई प्रभावकारी बनाउन प्रहरी महानिरीक्षक दान बहादुर कार्की स्वयं मनोहरा क्षेत्रमा पुगेर स्थलगत अनुगमन गरेका हुन् । आईजिपी कार्कीले फिल्डमै पुगेर सुरक्षाकर्मीलाई मानवीय संवेदनशिलतालाई ध्यानमा राख्दै सौहार्दपूर्ण वातावरणमा काम सम्पन्न गर्न निर्देशन दिएका छन् । साथै, उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरी समस्या समाधानका लागि सहकार्य गर्दै प्रहरीलाई सहयोग गर्न समेत आग्रह गरेका छन् ।

प्रहरी नेतृत्व नै स्वयं फिल्डमा उपस्थित भएपछि सुरक्षा व्यवस्थापन थप सुदृढ भएको र अतिक्रमण हटाउने कार्य अझ व्यवस्थित र समन्वयात्मक ढंगले अगाडि बढेको पाईएको छ ।

प्रतिक्रिया दिनुहोस्