Skip to content

संसद छलेर अध्यादेश ल्याउनु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो : खुश्बु ओली

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद छलेर अध्यादेश ल्याउन खोज्नुलाई संसदीय अभ्यासमाथिको गम्भीर हमला भएको बताएकी छन् । दुई तिहाइ नजिकको बहुमत प्राप्त सरकारले वैशाख १७ गतेका लागि आह्वान गरेको संसद अधिवेशन भोलिपल्टै स्थगन गरेर अध्यादेशको बाटो रोजेको भन्दै उनले आपत्ति जनाएकी हुन्।

सरकारले संवैधानिक परिषद् र सहकारी सम्बन्धी दुई वटा अध्यादेश अघि बढाउन लागेपछि प्रमुख सचेतक ओलीले यस्तो बताएकी हुन् । ‘जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो,’ ओलीले मंगलबार भनिन्, ‘स्पष्ट बहुमत भएको सरकारलाई संसद छलेर अध्यादेशको बाटो रोज्नुपर्ने कारण के हो? यो निकै रहस्यमय र अनुचित छ।’ संवैधानिक परिषद् जस्तो राज्यको महत्वपूर्ण अङ्ग र सहकारी क्षेत्र जस्तो आम जनजीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषयलाई संसदमा छलफल नगरी अध्यादेशमार्फत ल्याउनु लोकतान्त्रिक मूल्य मान्यता विपरित भएको उनको तर्क छ। प्रतिपक्षको हैसियतमा संसदलाई निष्क्रिय बनाउने यस्ता प्रवृत्तिको कडा विरोध गर्ने बताउँदै उनले संसदको सशक्तीकरणका लागि माग समेत गरिन्।

प्रतिक्रिया दिनुहोस्