Skip to content

कांग्रेसभित्र एकता प्रयासः थापा-शर्मा र खड्काबीच छलफल

काठमाडौँ – नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधान गर्ने प्रयासस्वरूप सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ । गोल्फुटारस्थित खड्का निवासमा बिहान ११ बजेदेखि करिब साढे एक घण्टा तीन नेताबीच छलफल भएको हो। भेटमा पार्टीभित्र देखिएका असन्तुष्टि र समन्वयको अभाव अन्त्य गर्दै संगठनलाई एकताबद्ध बनाउने विषयमा केन्द्रित भएर कुराकानी भएको जनाइएको छ ।

छलफलमा नेतृत्व तहबीच सहकार्य बढाउँदै पार्टीलाई आगामी दिनमा सुदृढ र एकीकृत ढंगले अघि बढाउने सहमति बनेको छ । विशेष महाधिवेशनपछि सभापति थापाले खड्कालाई भेटेको यो दोस्रो पटक हो । यसअघि वैशाख ६ गते पनि थापाले खड्कासँग उनकै निवासमा भेट गरेका थिए । उक्त भेटपछि खड्काले आफ्ना समूहका नेताहरूसँग छलफल गर्दै पार्टी एकता मजबुत बनाउने विषयमा नेतृत्वसँग भएको संवादबारे जानकारी गराएका थिए । वैशाख १५ गते स्मार्ट होटलमा बसेको समूह बैठकमा उनले सभापतिसँग भएको परामर्श र आफूले दिएको सुझावबारे धारणा राखेका थिए । पछिल्लो भेटवार्तालाई पार्टीभित्र देखिएको गुटगत असन्तुलन कम गर्दै साझा सहमतिको आधारमा अघि बढ्ने प्रयासका रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्