Skip to content

रास्वपाको साधारण सदस्य संख्या ५ लाख नाघ्यो, पहिलो राष्ट्रिय महाधिवेशनको तयारी पूरा हुँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को साधारण सदस्य संख्या ५ लाख नाघेको पार्टीका प्रवक्ता मनिष झा ले जानकारी दिएका छन्। चितवनमा भोलिबाट सुरु हुने पहिलो राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त तथ्यांक सार्वजनिक गरेका हुन् । प्रवक्ता झाले महामन्त्री तथा संगठन विभागबाट प्राप्त विवरणअनुसार रास्वपाको साधारण सदस्यता ५ लाखभन्दा बढी पुगेको बताएका छन्। उनले पार्टीको संगठन विस्तार देशभर तीव्र रूपमा अघि बढिरहेको दाबी गरे ।

उनका अनुसार हालसम्म देशभरका ४ हजार ६३ वडामा वडा अधिवेशन सम्पन्न भइसकेको छ र त्यही प्रक्रियामार्फत प्रतिनिधित्व हुँदै केन्द्रीय महाधिवेशनसम्म प्रतिनिधि छनोट गरिएको छ । यस्तै, देशभरका ७५३ स्थानीय तहमध्ये ६१० पालिकामा अधिवेशन सम्पन्न भएको र १६५ निर्वाचन क्षेत्रमध्ये १०० क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको जानकारी दिइएको छ । साथै ७७ जिल्लामध्ये ६३ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको उनले बताए । उनले १३ जिल्लाबाट तदर्थ समितिमार्फत महाधिवेशनमा सहभागिता भइरहेको जानकारी दिए। त्यस्तै, ७ मध्ये ६ वटा प्रदेशमा प्रदेश अधिवेशन सम्पन्न भइसकेको र केही प्राविधिक कारणले मधेश प्रदेशको अधिवेशन बाँकी रहेको बताए ।

रास्वपाका अनुसार पहिलो राष्ट्रिय महाधिवेशनका लागि हालसम्म ३ हजार ९१८ जना महाधिवेशन प्रतिनिधि दर्ता भइसकेका छन्। पार्टीले महाधिवेशनमार्फत आगामी राजनीतिक दिशा, संगठन संरचना र नेतृत्व चयनका विषयमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्