काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीलाई थप बलियो र एकताबद्ध बनाउन नेता–कार्यकर्तालाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । धान दिवसका अवसरमा कोइराला निवास महाराजगञ्जमा साेमबार दही चिउरा खाने कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्ताे बताएका हुन् । कोइरालाले अहिले पार्टी विभक्त अवस्था जस्तो देखिएकाले मुलुकको हितका लागि कांग्रेसलाई एकताबद्ध बनाउनुको विकल्प नरहेको बताए । उनले आफू सधैँ सिंगो कांग्रेसको पक्षमा रहेको भन्दै कांग्रेस एकताका लागि जस्तोसुकै जिम्मेवारी लिन र त्याग गर्न पनि तयार रहेको बताए ।
पूर्वमहामन्त्रीसमेत रहेका कोइरालाले कृषि उत्पादनमा वृद्धि, किसानको सम्मान र समृद्ध नेपालको निर्माणमा सबैको साझा प्रयास सफल होस् भन्ने कामना गरे । उनले किसानको हितमा काम गर्न सकेमात्र नेपालको समृद्ध सम्भव हुने बताए । नेपालले २०६१ सालदेखि असार १५ लाई धान दिवसका रूपामा मनाउँदै आएको छ । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो । नेपाली समाजमा खेतमा रोपाइँ गरी असार १५ मा दही चिउरा खाएर मनाउने परम्परा रहेको छ ।
कार्यक्रममा कांग्रेसका महामन्त्री गुरुराज घिमिरे, संसदीय दलका नेता भीष्मराज आङदम्बे, पूर्वमहामन्त्री कृष्ण सिटौला, पूर्वउपसभापति प्रकाशमान सिंह नेताहरू, एनपी साउद, चन्द्र भण्डारी, डा मिनेन्द्र रिजाल, दिलेन्द्र बडू, शंकर भण्डारी, मोहन बस्नेत, दिपक खड्का, दिपक गिरी, रमेश लेखक, रामहरी खतिवडा, विभिन्न जिल्ला पार्टी सभापतिहरू, प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्