Skip to content

निधि–शेखर भेटवार्ता : कांग्रेसको आन्तरिक रणनीति र राष्ट्रिय भेलाबारे छलफल

काठमाडौं – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच शनिबार भेटवार्ता भएको छ। संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि दुई नेताबीच बानेश्वर हाइटस्थित निधि निवासमा करिब एक घण्टा छलफल भएको हो ।

निधिनिकट स्रोतका अनुसार भेटमा शुक्रबार गल्फुटारस्थित पूर्णबहादुर खड्का निवासमा भएको संस्थापन इतर समूहको बैठक, पार्टीलाई आगामी दिनमा कसरी अघि बढाउने भन्ने विषय तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा उठेका केही विषयमा पनि दुई नेताबीच कुराकानी भएको छ । कांग्रेसभित्र पछिल्ला दिनमा संस्थापन इतर पक्षका नेताहरूबीच भेटघाट र परामर्श तीव्र बनेका छन् । यसअघि बिहीबार डा. शेखर कोइरालाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई गल्फुटारस्थित निवासमा भेटेका थिए। सोही दिन खड्काले पूर्वमहामन्त्री डा. शशांक कोइरालासँग महाराजगञ्जस्थित कोइराला निवासमा छलफल गरेका थिए ।

त्यसैगरी, बिहीबार नै पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री डा. शशांक कोइराला र अर्का पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच पनि छुट्टै छलफल भएको थियो । यी श्रृंखलाबद्ध भेटघाटपछि शुक्रबार गल्फुटारमा पूर्णबहादुर खड्काको नेतृत्वमा संस्थापन इतर समूहको बैठक बसेको थियो। बैठकले चुनदेवीस्थित नवस्थापित सम्पर्क कार्यालयमा २२ असारमा बैठक बोलाएर राष्ट्रिय भेलाको तयारीबारे विस्तृत छलफल गर्ने निर्णय गरेको थियो । बैठकपछि नेता मीन विश्वकर्माले २२ असारको बैठकले राष्ट्रिय भेलाको मिति तय गर्ने बताएका थिए। यद्यपि, शुक्रबारको गल्फुटार बैठकमा डा. शेखर कोइराला भने सहभागी भएका थिएनन् । कांग्रेसभित्र संस्थापन इतर पक्षका नेताहरूबीच लगातार भइरहेको भेटघाटलाई आगामी संगठनात्मक रणनीति, राष्ट्रिय भेला र पार्टीभित्रको शक्ति सन्तुलनसँग जोडेर हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्