Skip to content

ज्ञानेन्द्र शाहीको प्रश्न– कर्णालीको विपद्‌मा राज्य किन अनुपस्थित हुन्छ ?

काठमाडौँ – प्रतिनिधिसभाकाे बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले कर्णालीमा भएको सवारी  दुर्घटना र उद्धारमा भएको ढिलाइप्रति भावुक बन्दै आक्रोश पोखेका छन् । उनले सरकारको विपद् व्यवस्थापन क्षमतामाथि प्रश्न उठाउँदै कर्णालीमाथि विभेद भएको आरोप लगाए । संसदमा बोल्दै शाहीले आफू आज बोल्न नभई कर्णालीको पीडा बोलिरहेको बताए । दुर्घटनापछि नदीको बीचमा फसेका नागरिकहरूले ‘बचाइदिनुहोस्’ भन्दै गुहार माग्दासमेत समयमै उद्धार नपुगेको भन्दै उनले राज्य असफल रहेको बताए ।

उनले घटनाका क्रममा आकाशमा हेलिकोप्टर देखिए पनि त्यो उद्धारका लागि नभई मन्त्रीको सवारीका लागि प्रयोग भएको दाबी गरे । त्यस्तै, उद्धार टोलीसँग आवश्यक साधनको अभाव रहेको र सुरक्षाकर्मी घटनास्थलमा पुग्न पाँच घण्टा लागेको उल्लेख गर्दै ढिलाइका कारण धेरै नागरिकको ज्यान गएको बताए । शाहीले उक्त दुर्घटनाले केवल केही व्यक्तिको ज्यान मात्रै नगई धेरै परिवारको भविष्य अन्धकार बनेको उल्लेख गरे । ‘कसैले बुबा गुमायो, कसैले आमा, कसैले श्रीमान्–श्रीमती र कसैले आफ्ना सन्तान गुमाए,’ उनले भने ।

आफूले पनि जीवनमा आफन्त गुमाएको अनुभव सुनाउँदै उनले यो विषयलाई राजनीतिक रूपमा नभई मानवीय संवेदनाका रूपमा बुझ्न आग्रह गरे । ‘के कर्णालीका जनता यो देशका नागरिक होइनन् ? यदि कर्णाली पनि नेपाल हो भने विपद्को बेला राज्य किन अनुपस्थित हुन्छ ?,’ उनले प्रश्न गरे । शाहीले सरकारले विपद् व्यवस्थापनका लागि हेलिकोप्टर सञ्चालन र उद्धारलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए पनि व्यवहारमा कर्णालीले त्यो अनुभूति गर्न नसकेको बताए । ‘आकाशमा मन्त्रीको हेलिकोप्टर उडिरहँदा नदीमा नागरिकहरू डुबिरहेका थिए,’ उनले भने ।

सांसद शाहीले सभामुखमार्फत सरकारसँग घटनाको सत्यतथ्य सार्वजनिक गर्न, उद्धारमा भएको ढिलाइको जिम्मेवारी निर्धारण गर्न, दोषीमाथि कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिने प्रभावकारी व्यवस्था गर्न रुलिङ गर्न आग्रह गरे । ‘कर्णालीले दया होइन, अधिकार खोजेको छ । कर्णालीले सहानुभूति होइन, समान व्यवहार खोजेको छ,’ उनले भने । सांसद शाहीले कर्णालीका नागरिकको जीवन र सुरक्षाको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरे ।

पूर्णपाठ

सम्माननीय सभामुख महोदय,
आज म बोल्न उठेको छैन, पीडा बोलेको छ। आज मेरो आवाज होइन, कर्णालीको करुण चित्कार यो संसदमा गुन्जिएको छ।
सम्माननीय सभामुख महोदय, बोल्दै गर्दा मेरो घाँटी अवरुद्ध भएको छ। मन भारी भएको छ। आँखाभरि आँसु छ। सधैँ चर्को रूपमा बोल्ने म आज शब्द खोज्न सकिरहेको छैन। किनकि मैले आज केवल एउटा दुर्घटना देखेको छैन, एउटा राज्यको असफलता देखेको छु। मैले केवल केही नागरिक गुमाएको होइन, असहाय बनेको एउटा कर्णाली देखेको छु।
मेरो कर्णालीमा गाडी कर्णाली नदीमा खस्यो। नदीको बीचमा मानिसहरू “बचाइदिनुहोस्, उद्धार गरिदिनुहोस्” भन्दै जीवनको भिख मागिरहेका थिए। उनीहरूको गुहारले नदीको किनार थर्कियो। डाको लगाउँदालगाउँदै स्वर सुक्यो। आशा सकियो। तर उद्धार आएन।
त्यही बेला आकाशमा हेलिकप्टर देखियो। तर त्यो उद्धारका लागि थिएन, मन्त्रीको सवारीका लागि थियो।
उता केन्द्रीय मन्त्री हेलिकप्टरमा कर्णालीको आकाश घुमिरहेका थिए। यता प्रदेश सभामा भाग पुगेन भन्दै सांसदहरू भागबन्डाका लागि एकआपसमा झगडा गरिरहेका थिए। तर कर्णालीका नागरिक भने नदीमा डुबेर जीवन बचाइदिन गुहार मागिरहेका थिए।
सम्माननीय सभामुख महोदय,
उद्धार टोलीसँग साधन थिएन। सुरक्षाकर्मी घटनास्थलमा पुग्न पाँच घण्टा लाग्यो। जब उनीहरू पुगे, धेरै ढिलो भइसकेको थियो। उद्धार गर्न होइन, मुचुल्का उठाउनुपर्ने अवस्था आयो। फर्किँदाफर्किँदै छ जना नागरिक बेपत्ता भए।
त्यो दिन केवल छ जना मानिस हराएनन्।
कसैको घरको चुलो सदाका लागि निभ्यो।
कसैले आफ्नो बुबा गुमायो।
कसैले आफ्नो आमा गुमायो।
कसैले आफ्नो श्रीमान् गुमायो।
कसैले आफ्नो श्रीमती गुमायो।
कसैले आफ्नो सन्तान गुमायो।
कसैको काख रित्तियो।
कसैको भविष्य अन्धकार भयो।
सम्माननीय सभामुख महोदय,
म यो पीडा केवल देखेर आएको होइन। मैले पनि आफन्त गुमाएको छु। मैले पनि परिवार गुमाएको छु। त्यसैले यो विषयमा बोल्दा मेरो मन टुक्रिन्छ, मेरो आत्मा रुन्छ।
कसैले मेरो कुरा राजनीतिका रूपमा लिन सक्ला। कसैलाई यो भावुकता लाग्ला। तर जसले आफ्नो मान्छे गुमाएको हुन्छ, उसलाई पीडाको मूल्य थाहा हुन्छ।
म दयाको भिख माग्न आएको होइन।
म केवल एउटा प्रश्न सोध्न आएको छु।
के कर्णालीका जनता यो देशका नागरिक होइनन्?
के कर्णालीका नागरिकलाई बाँच्न पाउने अधिकार छैन?
के कर्णालीका युवाहरू यो देशको भविष्य होइनन्?
यदि कर्णाली पनि नेपाल हो भने, विभेद किन?
यदि कर्णालीका जनता पनि नेपाली हुन् भने, विपद्को बेला राज्य किन अनुपस्थित हुन्छ?
सम्माननीय सभामुख महोदय,
सरकारले यही संसदमा विपद् व्यवस्थापनका लागि हेलिकप्टर सञ्चालन गर्ने, उद्धारलाई प्राथमिकता दिने भनेर ठूला-ठूला आश्वासन दियो। तर व्यवहारमा कर्णालीले त्यो राज्य देखेन।
आकाशमा मन्त्रीको हेलिकप्टर उडिरहँदा नदीमा नागरिकहरू डुबिरहेका थिए।
यो दृश्य केवल एउटा दुर्घटना होइन, राज्यको संवेदनहीनताको सबैभन्दा ठूलो प्रमाण हो।
त्यसैले म सम्माननीय सभामुख महोदयमार्फत सरकारसँग स्पष्ट जवाफ माग गर्दछु—
कर्णालीका नागरिकको ज्यानको मूल्य आखिर कति हो?
र सम्माननीय सभामुख महोदयलाई विनम्र अनुरोध गर्दछु, सरकारलाई तत्काल रुलिङ गरी यस घटनाको सत्यतथ्य सार्वजनिक गर्न, उद्धारमा भएको ढिलाइको जिम्मेवारी निर्धारण गर्न, दोषीमाथि कारबाही गर्न र भविष्यमा यस्तो दर्दनाक घटना दोहोरिन नदिने प्रभावकारी व्यवस्था गर्न निर्देशन दिनुहोस्।
कर्णालीले दया होइन, अधिकार खोजेको छ।
कर्णालीले सहानुभूति होइन, समान व्यवहार खोजेको छ।
कर्णालीका नागरिकले जीवनको अधिकार खोजेका छन्। धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्