धनगढी – प्रदेशसभामा प्रस्तुत गरिएको २३ दिनपछि सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा त्यससँग सम्बन्धित विधेयकहरू प्रदेशसभामा टेबुल गरिएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले राजस्व र व्ययको वार्षिक अनुमान (बजेट), आर्थिक विधेयक तथा प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धी विनियोजन विधेयक सभासमक्ष प्रस्तुत गरेका हुन् ।
सरकारले असार १ गते मध्यराति ३७ अर्ब ७० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । तर, बजेट सार्वजनिक भएयता सत्तारुढ दलभित्रै असन्तुष्टि चुलिएको छ । सत्ता साझेदार एमालेले बजेटमा संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरिसकेको छ भने सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका केही सांसदले पनि बजेटप्रति असन्तुष्टि जनाएका छन् । यता प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पत्रकार सम्मेलनमार्फत बजेट असफल बनाउने रणनीतिमा लागेको बताइसकेको छ । यसैबीच, करिब पाँच मिनेट चलेको प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले महालेखापरीक्षकको आठौँ वार्षिक प्रतिवेदन, थारु आयोगको सातौँ वार्षिक प्रतिवेदन, मुस्लिम आयोगको सातौँ प्रतिवेदन तथा मधेशी आयोगको सातौँ प्रतिवेदन पनि सभामा पेस गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्