विराटनगर – सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा बोलबम यात्रालाई लिएर दुई समूहबीच भएको हिंसात्मक झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ । घटनामा ८ जना प्रदर्शनकारी र ८ जना प्रहरीसमेत घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहता प्रहरीको गोली लागेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्याइएको भए पनि आइतबार राति उपचारकै क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार साउने सोमबारको बोलबम यात्राका लागि राति डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारी भइरहेको बेला अर्को समूहले रातिको समयमा अत्यधिक होहल्ला भएको भन्दै विरोध जनाएको थियो। यही विषयलाई लिएर सुरु भएको विवाद केहीबेरमै झडपमा परिणत भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास प्रहार र हवाई फायर गरेको थियो। तर त्यसबाट पनि अवस्था नियन्त्रणमा नआएपछि प्रहरीले गोली चलाएको जनाएको छ ।
झडपमा घाइते भएका प्रदर्शनकारीमध्ये अधिकांशलाई गोली लागेको प्रहरीले जनाएको छ। २२ वर्षीय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथलेश मेहता र २० वर्षीय अमितकुमार यादवको कोशी अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै, २१ वर्षीय रविन्द्र मेहता, १८ वर्षीय अमितकुमार यादव, २५ वर्षीय सुनिलकुमार मेहता र २६ वर्षीय सुनिलकुमार मेहताको विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनामा प्रहरीतर्फ प्रहरी निरीक्षक राकेश राई सहित ८ जना सुरक्षाकर्मी घाइते भएका छन् । राईको टाउकोमा चोट लागेको छ। साथै प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव, प्रहरी रामबहादुर राई, प्रहरी विजय यादव, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी बुद्धदेव साह र प्रहरी जवान निवेश यादव पनि घाइते भएका छन् । प्रहरीका अनुसार झडपका क्रममा कप्तानगन्ज बजारका घर, मेडिकल, सवारीसाधन तथा अन्य संरचनामा तोडफोड र आगजनीसमेत भएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्