काठमाडौँ – इरानमाथि जारी अमेरिकी–इजरायली सैन्य कारबाहीका बीच होर्मुज जलडमरूमध्यमा तनाव थप चर्किएको छ। इरानी नाकाबन्दी तोडेर इरानी बन्दरगाहतर्फ अघि बढेको पानामाको झन्डा बोकेको एक कार्गो जहाजमाथि अमेरिकी सेनाले क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। अमेरिकी सेनाका अनुसार चेतावनी दिँदा पनि जहाजले निर्देशन पालना नगरेपछि त्यसको स्टेयरिङ प्रणालीलाई लक्षित गरी दुईवटा हेलफायर क्षेप्यास्त्र प्रहार गरिएको हो। क्षेप्यास्त्र प्रहारपछि जहाजलाई अघि बढ्नबाट रोकिएको अमेरिकी सेनाले जनाएको छ। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार इरानले लगाएको नाकाबन्दी तोडेर अघि बढेका हालसम्म ५५ वटा व्यावसायिक जहाजलाई मार्ग परिवर्तन गर्न लगाइएको छ। त्यस्तै, तीनवटा जहाजलाई निष्क्रिय पारिएको र दुईवटा जहाजमा अमेरिकी सैनिक प्रवेश गरी नियन्त्रणमा लिइएको सेन्टकमको दाबी छ। यस घटनासँगै विश्वकै महत्वपूर्ण ऊर्जा तथा व्यापारिक जलमार्गमध्ये एक मानिने स्ट्रेट अफ होर्मुजमा तनाव थप बढेको छ। इरानले अमेरिकी सैन्य कारबाही र नाकाबन्दीको विरोध गर्दै उक्त जलमार्गबाट हुने व्यावसायिक जहाजको आवतजावतमा रोक लगाउँदै आएको छ।
इरानको सर्त : युद्ध र नाकाबन्दी अन्त्य गर्नुपर्ने
इरानले स्ट्रेट अफ होर्मुज पुनः खोल्नुअघि अमेरिकाले युद्ध र नाकाबन्दी अन्त्य गर्नुपर्ने माग गरेको छ। साथै, रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने र क्षेत्रमा युद्धविराम लागू गर्नुपर्ने उसको माग छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले यी माग पूरा नभएसम्म स्ट्रेट अफ होर्मुज बन्द रहने बताएका छन्।
होर्मुज खोल्न कूटनीतिक प्रयास
यसैबीच कतारले ओमान र इरानबीच स्ट्रेट अफ होर्मुजबाट व्यावसायिक जहाजको आवतजावत पुनः सुरु गर्ने विषयमा भइरहेको वार्ता महत्वपूर्ण चरणमा पुगेको जनाएको छ। पूर्व अमेरिकी वरिष्ठ कूटनीतिज्ञ एलन एरका अनुसार इरान र ओमानले ६० दिनका लागि अस्थायी रूपमा जहाज आवतजावत व्यवस्थापन गर्ने योजनामा सहमति गरेका छन्। योजनाअनुसार जहाजहरू इरानी नियन्त्रणमा छुट्टाछुट्टै मार्गबाट आवतजावत गर्ने प्रस्ताव गरिएको छ। यद्यपि, उक्त योजना कार्यान्वयनका लागि अमेरिकाको सहमति आवश्यक रहेको उनको भनाइ छ। यसैबीच पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी मध्यस्थताका लागि तेहरान पुगेका छन्। उनले इरानी राष्ट्रपति मसुद पेजेस्कियान र विदेशमन्त्री अब्बास अराघ्चीसँग भेटवार्ता गरेका छन्। पाकिस्तानले अमेरिका–इरान युद्ध अन्त्य गर्न तथा स्ट्रेट अफ होर्मुजबाट अन्तर्राष्ट्रिय जहाजको आवतजावत पुनः सुरु गराउन मध्यस्थताको प्रयास गरिरहेको छ।
बाब अल–मन्देबमा पनि बढ्यो तनाव
उता, यमनका हुथी विद्रोहीले बाब अल–मन्देब जलडमरूमध्यमा सैन्य सामग्री बोकेको साउदी जहाजलाई लक्षित गरेको दाबी गरेका छन्। हुथी समूहको समाचार संस्था साबाले उक्त घटनाबारे जानकारी दिएको हो। यमनको तटरक्षक बलका अनुसार हुथी आक्रमणमा एउटा व्यावसायिक जहाजमा सवार ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। होर्मुजसँगै बाब अल–मन्देबमा समेत तनाव बढेपछि मध्यपूर्वको समुद्री व्यापार र विश्वव्यापी आपूर्ति प्रणालीमा थप दबाब परेको छ।
पश्चिम किनारमा पनि हिंसा बढ्दो
यसैबीच संयुक्त राष्ट्रसंघले इजरायलले कब्जा गरेको पश्चिम किनाराको अवस्था गम्भीर बन्दै गएको चेतावनी दिएको छ। संयुक्त राष्ट्रसंघका उपविशेष संयोजक रामिज अलअकरबका अनुसार यस वर्ष अहिलेसम्म पश्चिम किनारामा ७६ प्यालेस्टिनी मारिएका छन्। मृत्यु हुनेमध्ये १८ जना बालबालिका रहेको जनाइएको छ। यता, इजरायली सेनाले दक्षिणी लेबनानमा आफ्नै सैन्य गतिविधिलाई लक्षित गरेर गल्तीवश इन्टरसेप्टर प्रक्षेपण गरेको जनाएको छ। सेनाका अनुसार पछि उक्त लक्ष्य आफ्नै सेनाको गतिविधि भएको पहिचान गरिएको थियो।
घटनामा कोही घाइते नभएको र कुनै साइरन पनि नबजेको इजरायली सेनाले जनाएको छ। मध्यपूर्वका प्रमुख समुद्री मार्गहरूमा एकैपटक बढिरहेको सैन्य तनावले विश्वव्यापी तेल आपूर्ति, समुद्री व्यापार तथा आपूर्ति शृंखलामा थप असर पर्न सक्ने चिन्ता बढेको छ।



प्रतिक्रिया दिनुहोस्