कैलाली – सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा पदमुक्त भएका छन्। प्रदेशसभाका लगातार १० भन्दा बढी बैठकमा बिना सूचना अनुपस्थित रहेको भन्दै प्रदेशसभा सचिवालयले तयार गरेको पद रिक्तसम्बन्धी टिप्पणी आदेश सभामुख भीमबहादुर भण्डारीले सदर गरेसँगै देउवाको प्रदेशसभा सदस्य पद रिक्त भएको हो। उनको पद रिक्त भएको जानकारी सभामुख भण्डारीले भोलि दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा गराउने तयारी छ।
देउवा गत वर्ष भदौ २८ गते जेनजी आन्दोलनलगत्तै व्यक्तिगत कामका लागि अमेरिका गएका थिए। त्यसपछि स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि अमेरिकामै बसेका उनी अमेरिका गएको ११ महिना पुग्दासमेत नेपाल फर्किएका छैनन्। छैटौँ अधिवेशनका क्रममा लगातार पाँच बैठकमा अनुपस्थित भएपछि देउवाले चैत २३ गते प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै आफू स्वास्थ्य परीक्षण तथा उपचारका क्रममा अमेरिकामा रहेको जानकारी गराएका थिए। सभामुखलाई सम्बोधन गरिएको पत्रमा उनले व्यक्तिगत कामका लागि अमेरिका पुगेपछि स्वास्थ्य समस्या देखिएको र चिकित्सकको सल्लाहअनुसार उपचार तथा आराम गर्नुपरेको बताएका थिए। स्वास्थ्यमा पूर्ण सुधार भएपछि नेपाल फर्किएर संसदीय जिम्मेवारीमा सक्रिय हुने प्रतिबद्धता उनले पत्रमार्फत जनाएका थिए। तर, पत्र पठाएको चार महिनाभन्दा बढी समय बितिसक्दा पनि उनी नेपाल फर्किएका छैनन्। उनको स्वास्थ्य अवस्था र नेपाल फर्किने मितिबारे कांग्रेसका नेताहरूलाई समेत स्पष्ट जानकारी नरहेको बताइएको छ।
२७ बैठकमा लगातार अनुपस्थित
नेपालको संविधानको धारा १८० को खण्ड (घ) मा प्रदेशसभा सदस्य सभालाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित भएमा पद रिक्त हुने व्यवस्था छ। यही संवैधानिक व्यवस्थाअनुसार देउवाको पद रिक्त गरिएको हो। सुदूरपश्चिम प्रदेशसभा नियमावली, २०८० मा समेत यससम्बन्धी व्यवस्था गरिएको छ। प्रदेशसभा सचिवालयको अभिलेखअनुसार छैटौँ अधिवेशनमा २५ वटा बैठक बसेकामा देउवा आठ दिन मात्रै उपस्थित भएका थिए। त्यसपछि सातौँ र आठौँ अधिवेशनका कुनै पनि बैठकमा उनी सहभागी भएनन्।
पछिल्लो २७ वटा बैठकमा देउवाको हाजिरी नै नरहेको सचिवालयको अभिलेखमा उल्लेख छ। सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्यकालमा हालसम्म १२८ वटा बैठक बसेका छन्। तीमध्ये देउवा ६० वटा बैठकमा मात्रै उपस्थित भएका छन्।
११ महिनामा ७ लाख ५३ हजारभन्दा बढी सेवा–सुविधा
लामो समयदेखि अमेरिकामा रहेका देउवालाई प्रदेशसभा सचिवालयले नियमित रूपमा सेवा–सुविधाबापतको रकमसमेत उपलब्ध गराउँदै आएको थियो। सचिवालयका अनुसार ११ महिनाको अवधिमा मात्रै देउवाले ७ लाख ५३ हजार ५ सय रुपैयाँ बुझिसकेका छन्। मासिक पारिश्रमिक, धारा–बिजुली, सञ्चार तथा अतिथि सत्कारलगायत शीर्षकमा उनको खातामा नियमित रकम जम्मा हुँदै आएको थियो। सचिवालयले मासिक रूपमा पारिश्रमिकबापत ५६ हजार ५ सय, धारा–बिजुलीबापत २ हजार, सञ्चार सुविधाबापत ३ हजार र अतिथि सत्कारबापत ७ हजार रुपैयाँ गरी कुल ६८ हजार ५ सय रुपैयाँ उपलब्ध गराउँदै आएको जनाएको छ। त्यसैगरी गत जेठमा निजी आवास मर्मत शीर्षकमा थप ३५ हजार रुपैयाँसमेत उनको खातामा पठाइएको थियो। यसअघि माघमा देउवा नेपालमा नरहेको भन्दै सचिवालयले उनको सेवा–सुविधा रोक्का गरेको थियो। तर, कानुनअनुसार प्रदेशसभा सदस्य पद कायम रहेसम्म सेवा–सुविधा रोक्न नमिल्ने भएपछि जेठमा चार महिनाको रकम एकमुष्ट भुक्तानी गरिएको सचिवालयले जनाएको छ।
शेरबहादुर देउवाका भतिजा
प्रकाशबहादुर देउवा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका भतिजा हुन्। उनी कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को (२) बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। लामो समयदेखि आफ्नो निर्वाचित प्रतिनिधि सम्पर्कविहीन रहेको भन्दै उनको निर्वाचन क्षेत्रका मतदाताले समेत असन्तुष्टि जनाउँदै आएका थिए। प्रदेशसभा बैठकमा लामो समयदेखि अनुपस्थित रहेका देउवाले राज्यबाट नियमित सेवा–सुविधा लिइरहेको विषय पनि प्रश्नको घेरामा परेको थियो। ११ महिनादेखि अमेरिका रहेका उनी कहिले नेपाल फर्किन्छन् भन्ने अनिश्चितताबीच प्रदेशसभा सचिवालयले अन्ततः संवैधानिक व्यवस्थाअनुसार उनको पद रिक्त गरेको हो।



प्रतिक्रिया दिनुहोस्