काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेश कुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठ्ने अवस्था आउन नहुने बताएका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सिंहले अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा नभई संवैधानिक आयोग भएको स्मरण गराए । उनले प्रश्न गरे, ‘अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो कि संवैधानिक आयोग ?’ अख्तियारका पदाधिकारी प्रधानमन्त्री कार्यालय पुगेको विषयमा समेत सिंहले आपत्ति जनाए । संवैधानिक आयोगका पदाधिकारी प्रधानमन्त्री कार्यालयमा गएर घन्टौं बस्नुपर्ने अवस्था आउनु उचित नभएको उनको भनाइ थियो ।
गत असारको पहिलो साता अख्तियारका पदाधिकारीसहितको टोली प्रधानमन्त्री कार्यालय पुगेको थियो । त्यस क्रममा अख्तियारका सबै पदाधिकारीलाई प्रधानमन्त्री बालेन शाहका सहयोगीहरूले घन्टौंसम्म कार्यालयमा राखेर केरकार गरेको भन्दै प्रश्न उठेको थियो ।सरकारमाथि निगरानी राख्ने तथा राज्यका निकायबीच सन्तुलन कायम गर्ने उद्देश्यले गठन गरिएको संवैधानिक अंग अख्तियारको स्वतन्त्रता र निष्पक्षतामाथि कुनै पनि प्रकारको प्रश्न उठ्ने अवस्था सिर्जना हुन नहुने सांसद सिंहले बताएका छन् । उनको अभिव्यक्ति उक्त घटनाको पृष्ठभूमिमा अख्तियार र प्रधानमन्त्री कार्यालयबीचको सम्बन्ध तथा संवैधानिक आयोगको स्वायत्तताबारे पुनः बहस सुरु भएको संकेतका रूपमा आएको छ ।



प्रतिक्रिया दिनुहोस्