काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशन रोक्न आफ्नो तर्फबाट शुक्रबार सर्वोच्च अदालतमा कुनै रिट दर्ताका लागि नदिएको स्पष्ट पारेका छन् । विभिन्न सञ्चारमाध्यममा आफ्नो नामबाट १५औँ महाधिवेशन रोक्न सर्वोच्च अदालतमा रिट गएको र सर्वोच्चले विभिन्न कारण देखाउँदै रिट दर्ता नगरेको भन्ने समाचार प्रकाशित भएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको खड्काले बताएका छन् । खड्काले शुक्रबार जारी गरेको भनाइमा भनेका छन्, ‘प्रथमतः मेरो नामबाट–मेरो तर्फबाट आज सर्वोच्च अदालतमा कुनै रिट दर्ताका लागि नगएको कुरा म सबैमा स्पष्ट पार्न चाहन्छु ।’
उनले संवेदनशील विषयमा अनुमानका भरमा समाचार सम्प्रेषण नगर्न र सामाजिक सञ्जालमार्फत भ्रम नफैलाउन समेत आग्रह गरेका छन् । यद्यपि, सर्वोच्च अदालतमा पुनरावलोकनका लागि दिएको रिट जारी भई निस्सा समेत प्राप्त भइसकेको अवस्थामा विशेष महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमितिले १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाउने गरी गरेको निर्णयप्रति भने खड्काले आपत्ति जनाएका छन् ।उनका अनुसार उक्त निर्णय पार्टीको सम्पूर्ण एकताका लागि अहिलेको ऐतिहासिक आवश्यकता तथा सर्वोच्च अदालतको पुनरावलोकन गर्ने आदेश दुवैको प्रतिकूल छ । खड्काले पुनरावलोकनबाट मुद्दाको अन्तिम किनारा नलाग्दासम्म नेपाली कांग्रेसको १५औँ महाधिवेशनका सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट–निवेदन लिएर जाने विषयमा कानून व्यवसायीसँग गम्भीर परामर्श भइरहेको जानकारी दिएका छन् ।
‘चाँडै नै रिट–निवेदन सर्वोच्च अदालतमा लिएर जाने कुरा सम्बन्धित सबैमा स्पष्ट पार्न चाहन्छु,’ उनले भनेका छन् । यससँगै खड्काले आफूले शुक्रबार रिट दर्ताका लागि सर्वोच्च नगएको प्रस्ट्याउँदै आगामी दिनमा भने कानुनी प्रक्रियामार्फत महाधिवेशनको प्रक्रिया रोक्न अदालत जाने संकेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्