काठमाडौँ – संघीय संसदका दुवै सदनको बैठक बस्दैछ । अपराह्न १ः०० बजे सिंहदबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
यस्तै, कानुनमन्त्री गौतमले ‘मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । बैठकमा कानुनमन्त्री गौतमले ‘संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ पेस गर्नेछिन् । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निधेष तथा नियमित गर्ने) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यसैबीच, बिहान १०ः१५ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।



प्रतिक्रिया दिनुहोस्