काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र पूर्वउपसभापति पूर्णबहादुर खड्काले दायर गरेको छुट्टाछुट्टै पूरक रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । सर्वोच्च अदालतले मंगलबार दुवै पूरक रिट निवेदन दर्ता गरेको हो । निवेदन दर्ता भएसँगै बिहीबारका लागि पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।
देउवा र खड्काले पूरक रिट निवेदन गत शुक्रबार नै सर्वोच्चमा पेस गरेका थिए । तर निवेदनमा केही विषय सच्याउनुपर्ने भएपछि दुवैले त्यसदिन फिर्ता लगेका थिए । सोमबार पुनः पेस गरिएको निवेदन अध्ययनपछि मंगलबार दर्ता भएको हो । कांग्रेस केन्द्रीय समितिले असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका तय गरेको थियो । सोही कार्यतालिकालाई यथावत् राख्दै केन्द्रीय निर्वाचन समितिले भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गर्ने गरी निर्वाचन तालिका समेत सार्वजनिक गरिसकेको छ ।
देउवा र खड्काले निर्वाचन समितिले सार्वजनिक गरेको महाधिवेशन कार्यतालिका बदर गर्न माग गरेका छन् । विशेष महाधिवेशनसम्बन्धी सर्वोच्च अदालतको निर्णय पुनरवलोकन गर्न अनुमति पाइसकेको अवस्थामा उक्त मुद्दाको अन्तिम किनारा नलागेसम्म नियमित महाधिवेशन अघि बढाउन नहुने उनीहरूको दाबी छ । गत पुसमा भएको विशेष महाधिवेशनमा निवर्तमान सभापति देउवा पक्ष सहभागी भएको थिएन । विशेष महाधिवेशनको वैधानिकतासहित कांग्रेसको महाधिवेशन प्रक्रियालाई लिएर पार्टीभित्र लामो समयदेखि विवाद रहँदै आएको छ । अब बिहीबार हुने पेसीमा सर्वोच्च अदालतले महाधिवेशन कार्यतालिकाका सम्बन्धमा कस्तो आदेश दिन्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस्