काठमाडौं – नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य २०८२ का उम्मेदवार धर्मानन्द जोशीले सर्वोच्च अदालतको आजको आदेशले नेपाली कांग्रेसलाई ‘अन्तहीन कानुनी चक्रव्यूह’बाट बाहिर निकालेको बताएका छन् । सर्वोच्चको आदेशसँगै नेपाली कांग्रेसको १५औँ महाधिवेशन निर्धारित तालिकाअनुसार अघि बढाउने बाटो खुलेको जोशीको भनाइ छ। उनले महाधिवेशनले पार्टीभित्र परिवर्तन र पुस्तान्तरणलाई थप संस्थागत गर्ने विश्वास व्यक्त गरेका छन् ।
विशेष महाधिवेशनले संशोधन गरेको पार्टी विधान (११औँ संशोधन) अनुसार वडा तहदेखि केन्द्रसम्म सक्षम नेतृत्व आउने र युवाहरूको प्रतिनिधित्वसमेत सुनिश्चित हुने जोशीले बताएका छन् । उनका अनुसार अब पार्टीको वर्तमान सभापतिसमेत स्वतः महाधिवेशन प्रतिनिधि बन्न पाउने छैनन्। सभापतिले समेत आफ्नो वडा तह हुँदै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएर आउनुपर्ने व्यवस्था लागू हुने उनले उल्लेख गरेका छन् । त्यस्तै, आगामी निर्वाचनमा वडा सदस्यदेखि संघीय सांसदसम्मका उम्मेदवारको सिफारिस पार्टीका सदस्यहरूको ‘प्राइमरी इलेक्सन’मार्फत हुने व्यवस्था रहेको जोशीले बताएका छन् ।
पार्टीलाई थप सशक्त बनाउन सबै जिम्मेवार नेताहरूबीच सार्थक वार्ता निरन्तर चल्नुपर्नेमा जोड दिँदै जोशीले १५औँ महाधिवेशनमा सबै नेता–कार्यकर्तालाई उत्साहपूर्वक सहभागी हुन आग्रह गरेका छन् । “पार्टी थप सशक्त बनोस् र त्यसका लागि सबै जिम्मेवार नेताहरूको सार्थक वार्ता चल्दै गरोस् भन्ने अपेक्षासहित म सबै आदरणीय नेता–कार्यकर्तालाई यस १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी भइदिन हार्दिक अनुरोध गर्दछु,” जोशीले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्