काठमाडौं – काठमाडौं-मुग्लिन नारायणगढ सडक खण्ड अन्तर्गत पृथ्वी राजमार्ग अझै अवरुद्ध छ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पृथ्वी राजमार्गको धादिङको गल्छी गाउँपालिका र गजुरी गाउँपालिकाका विभिन्न खण्डमा लेदो थुपारेपछि बुधबार साँझदेखि सडक अवरुद्ध छ । ट्राफिक प्रहरी उपरीक्षक डिल्ली नारायण पाण्डेयका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरीको दुई स्थानमा र गल्छी गाउँपालिकाको एक ठाउँमा बाढीले थुपारेको लेदो पन्छाउन बाँकी छ ।
उनका अनुसार गजुरी गाउँपालिका-५ को गलौदी र बाहुनी भिरमा लेदोका कारण समय रहेको छ । यसैगरी गल्छी गाउँपालिकाको महेश दोभान भन्ने स्थानमा लेदो पन्छाउन बाँकी रहेको उनले बताए । लेदो थुप्रिएको ठाउँमा उपकरणहरू प्रयोग गरी लेदो हटाउन काम भइरहेको उनले बताए । उनका अनुसार गजुरी गाउँपालिका-५ अन्तर्गत बाहुनी भिरमा बाढीले थुपारेको लेदो हटाउन अहिलेसम्म उपकरण पुग्न सकेको छैन । यो ठाउँमा लेदो पन्छाउनका लागि पहिला गलौदी र महेश दोभान क्षेत्रको लेदो हटाउनुपर्ने उनले बताए । उनका अनुसार आज दिनभरिमा सडक खुलाउने गरी काम तीव्र गतिमा भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्