काठमाडौं – बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्याउन नेशनल प्याब्सनले देशभरका विद्यालय, शिक्षक, अभिभावक तथा शुभेच्छुकलाई सहयोग अभियानमा जोडिन आह्वान गरेको छ । प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भइरहेका बेला पीडितहरूको दुःखमा साथ दिन National PABSAN केन्द्रीय कार्यसमितिले ‘National PABSAN Relief Fund’ सञ्चालन गर्दै प्रदेश, जिल्ला तथा पालिका कार्यसमितिमार्फत स्वेच्छिक सहयोग संकलन गर्न आग्रह गरेको हो । केन्द्रीय कार्यसमितिले जारी गरेको अपिलमा सदस्य विद्यालय, शिक्षक, अभिभावक तथा शुभेच्छुकहरूबाट स्वेच्छिक रूपमा सहयोग संकलन गरी QR Code मार्फत ७ दिनभित्र राहत कोषमा जम्मा गर्न अनुरोध गरिएको छ ।
नेशनल प्याब्सनले विपत्तिको समयमा गरिने सानो सहयोगले समेत प्रभावित परिवारका लागि ठूलो आशा र सहारा बन्न सक्ने जनाएको छ। आर्थिक सहयोग मात्र नभई पीडितको दुःखमा साथ दिनु र मानवताको पक्षमा उभिनु साझा सामाजिक उत्तरदायित्व भएको उसले जनाएको छ । अध्यक्ष सुबास न्यौपाने र महासचिव प्रकाश चन्द्र खड्काद्वारा जारी अपिलमा अभियानलाई सफल बनाउन प्रदेश, जिल्ला तथा पालिका कार्यसमितिको सक्रिय सहभागिताका साथै सदस्य विद्यालय, शिक्षक, अभिभावक र शुभेच्छुकहरूलाई सहयोग गर्न आग्रह गरिएको छ । नेशनल प्याब्सनले ‘विपत्तिमा साथ दिऔँ, पीडामा हात बढाऔँ; मानवताको दीप बाल्दै एकजुट बनौँ’ भन्ने सन्देशसहित राहत अभियानलाई अघि बढाएको हो ।




प्रतिक्रिया दिनुहोस्