काठमाडौं – पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ । रसुवाको भोटेकोशीमा बुधबार आएको विनाशकारी बाढीले धादिङको बैरेनीदेखि गलौदीसम्मको काठमाडौं-मुग्लिन सडकमा लेदो थुपारेको थियो ।
बाढीले ठाउँठाउँमा थुपारेको लेदो पन्छाएपछि शुक्रबार राति ८ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगरका प्रमुख डिल्ली नारायण पाण्डेले जानकारी दिए । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनीमा लेदो पूर्ण रूपमा पन्छाउन बाँकी रहेकोले सडक एकतर्फी सञ्चालनमा आएको उनको भनाइ छ । सडकमा सवारीको चाप रहेकाले समस्या भएका ठाउँठाउँमा सुरक्षाकर्मी राखेर सहजीकरण गरिएको उनले बताए । उनका अनुसार बैरनी क्षेत्रमा केही समस्या छ । दुई चार घण्टामा उक्त ठाउँको लेदो पन्छाउन त सकिन्छ । तर सडकमा सवारी सञ्चालन गरेर लेदो पन्छाउँदा काम गर्न असहज हुन सक्छ । दुईतर्फी सडक सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्