काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आइतबार बिहानैदेखि बाढीको बहाव फेरि बढेपछि प्रभावित क्षेत्रका बासिन्दा तथा खोज, उद्धार र राहतमा खटिएका टोलीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । यही भदौ १० गते तिब्बततर्फबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। बाढीमा परेकाहरूको खोज तथा उद्धार कार्य जारी रहेकै बेला भोटेकोशीमा पुनः पानीको बहाव बढेपछि थप जोखिम हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै भोटेकोशी नदीमा बाढीको बहाव थप केही बढेको जानकारी प्राप्त भएको जनाएको छ । प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतमा खटिएका व्यक्ति, तटीय क्षेत्रमा रहेका स्थानीय तथा अन्य सम्बन्धित सबैलाई सतर्क रहन अनुरोध गरेको छ । यता, बाढी पूर्वानुमान महाशाखाका अनुसार धादिङस्थित त्रिशूली नदीमा जलसतह खतरा तहभन्दा करिब ३ मिटर माथि पुगेको छ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण त्रिशूली नदीको जलसतह बढेको महाशाखाले जनाएको छ । त्यसैगरी, गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा भारी वर्षा मापन भएकाले नारायणी नदी र यसका सहायक नदीहरूमा समेत जलसतह बढ्न सक्ने पूर्वानुमान गरिएको छ । महाशाखाले नारायणी नदी तथा सहायक नदीहरूको तटीय क्षेत्रमा रहेका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै, सिन्धुलीको खुर्कोटस्थित सुनकोशी नदी जलमापन केन्द्रमा समेत जलसतहले सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ ।
भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा बाढीको जोखिम कायमै रहेकाले नदी किनार तथा तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र उद्धार तथा राहत कार्यमा खटिएका टोलीले समेत आवश्यक सुरक्षा सावधानी अपनाउन आग्रह गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्