काठमाडौं – प्रधानमन्त्री बालेन शाहले रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र चिनियाँ विशेषज्ञ टोलीले करिब ३ किलोमिटरसम्म खोजी गर्दा पनि अहिलेसम्म कोही फेला नपरेको बताएका छन् । भदौ १० गते आएको विनाशकारी बाढीपछि सामाजिक सञ्जालमार्फत नियमित जानकारी दिँदै आएका प्रधानमन्त्री शाहले आइतबार राति करिब साढे ८ बजे सार्वजनिक गरेको विवरणमा रसुवाका विभिन्न जलविद्युत् आयोजनामा खोज तथा उद्धार कार्य जारी रहेको जानकारी दिएका हुन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अनुसार २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ आयोजनामा ५७६ जना सम्पर्कविहीन छन्। आयोजनाबाट हालसम्म २५४ जनाको उद्धार गरिएको र करिब ३०० जना सुरुङभित्र फसेको इप्पानले जनाएको छ । प्रधानमन्त्री शाहका अनुसार प्रभावित क्षेत्रका जलविद्युत् आयोजना क्षेत्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म २७९ जनाको उद्धार भइसकेको छ। माथिल्लो त्रिशूली–१ आसपासबाट मात्रै पछिल्ला दुई दिनमा २५० जनाको उद्धार गरिएको उनले बताएका छन् ।
यस क्षेत्रमा चिनियाँ तथा कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी खोज तथा उद्धार कार्य गरिरहेका छन् । नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा पनि उद्धार प्रयास जारी छ। उद्धारका लागि नेपाली सेनाका इन्जिनियरले ब्लास्टिङमार्फत सुरुङ खुलाउने काम अघि बढाइरहेको प्रधानमन्त्री शाहले बताएका छन् । उनका अनुसार घटनास्थलमा नेपाली सेना, तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका विशेषज्ञ गरी ९० जनाको संयुक्त टोली परिचालन गरिएको छ । टोलीले आइतबार दिउँसो सुरुङको मुख्य भागमा पुगेर करिब २×३ फिटको प्वाल बनाएको थियो। डोरीको सहायताले सुरुङभित्र झरेर बोलाउँदा पनि कुनै प्रतिक्रिया नआएपछि ठूला उपकरण, ब्लास्टिङ र प्वाल फराकिलो बनाउने काम एकसाथ भइरहेको छ ।
त्यस्तै, नुवाकोटकै माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा पनि खोज तथा उद्धार कार्य जारी रहेको प्रधानमन्त्री शाहले जानकारी दिएका छन् । भैरवनाथ गण र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले उद्धार प्रयास गरिरहेको छ भने चिनियाँ विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी काम गरिरहेको छ । रसुवाको चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनासँगको समन्वयमा भारतीय टोलीले रेकी गरी पम्प र एक्स्काभेटर परिचालन गरेर उद्धार प्रयास अघि बढाएको छ । लाङटाङ खोला जलविद्युत् आयोजनामा नेपाली सेनाले खोज तथा उद्धार पेट्रोलिङ गरिरहेको छ । भारतीय टोलीले पनि नेपाली सेनासँग समन्वय गरी रेकीपछि पम्प र एक्स्काभेटर परिचालन गरेर थप काम सुरु गरेको प्रधानमन्त्री शाहले बताएका छन् । त्यसैगरी, रसुवाको मैलुङ खोला जलविद्युत् आयोजनामा कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी हवाई रेकीसहित खोज तथा उद्धारको काम सुरु गरिसकेको उनले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्