Skip to content

रसुवा बाढीपीडितका लागि एमालेले १ करोड २० लाख सहयोग गर्ने

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो तथा डुबानबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । सोमबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि कम्तीमा १ करोड २० लाख रुपैयाँ सहयोग गरिने जानकारी दिएका हुन् । ओलीले सरकारी कोषमा रकम जम्मा गर्दा कहिलेकाहीँ तत्काल खर्च हुन नसक्ने र त्यसको प्रत्यक्ष असर पीडितले भोग्नुपर्ने अवस्था देखिएको बताए । त्यसैले पार्टीको प्राथमिकता प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्नु मात्र नभई वास्तविक पीडितको हातमा छिटोभन्दा छिटो राहत पुर्‍याउनु रहेको उनको भनाइ छ ।

‘सरकारको कोषमा रकम जम्मा गर्दा कहिलेकाहीँ त्यो खातामै रहने र पीडितले तत्काल पाउनुपर्ने पिउने पानीसमेत नपाउने अवस्था सिर्जना हुन्छ । हाम्रो प्राथमिकता प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई मात्र बलियो बनाउने नभई पीडितका हातमा छिटोभन्दा छिटो राहत पुर्‍याउनु हो,’ ओलीले भने । उनले राहत तथा पुनर्स्थापनाको काम प्रभावकारी बनाउन वास्तविक पीडितसम्म छिटो पुग्ने माध्यम पहिचान गरी एमालेले सोही माध्यमबाट सहयोग गर्ने बताए । रसुवासहित बाढी, पहिरो र डुबानबाट प्रभावित क्षेत्रमा तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाको आवश्यकता रहेको भन्दै ओलीले पीडितलाई केन्द्रमा राखेर सहयोग परिचालन गरिने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्