काठमाडौँ – बाढी प्रभावित क्षेत्र नुवाकोटको एउटा घरभित्रबाट २४ वटा शव फेला परेको छ । सोमबार विदुर नगरपालिका-१० स्थित बेत्रावतीमा रहेको एउटा घरबाट २४ वटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीले जानकारी दिए।
उनका अनुसार घरभित्र आज पनि खोजी हुँदैछ । ‘बेत्रावतीको एउटा घरमा २४ वटा शव फेला परेको छ। अरू खोज्दैछौं। आजसम्म कति वटा छन् भन्ने यकिन विवरण आउँछ,’ उनले भने ।उक्त घर कसको र एकै घरमा ठूलो संख्यामा शव फेला पर्नुको कारणबारे बुझ्ने काम भइरहेको बताए ।
‘घर कसको हो भन्ने बुझ्न पाएका छैनौं। वडाध्यक्षज्यूको सम्पर्क हुन सकेको छैन। होटल वा गेस्ट हाउस जस्तो पनि देखिन्छ तर यकिन हुन सकेको छैन। कन्फर्म गर्ने प्रयास गर्दैछौं,’ उनले भने । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ। सोमबारसम्म ९ सय भन्दा बढीको शव फेला परिसकेको छ भने हजारौंको संख्यामा मानिसहरू सम्पर्कबिहीन छन् । तीन वटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएर खोजी तथा उद्धारको काम गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्