Skip to content

रसुवामा नीलकण्ठ स्कुलका झन्डै २ सय विद्यार्थी बेपत्ता भएको आशंका

रसुवा – रसुवाको उत्तरगया गाउँपालिका–५, बोगटीटारस्थित नीलकण्ठ सेकेन्डरी स्कुलका झन्डै २ सय विद्यार्थी बाढीपछि बेपत्ता भएको आशंका गरिएको छ । विद्यालयका प्रिन्सिपल माधव लामिछानेका अनुसार विद्यार्थी लिन गएको विद्यालय बस नै बाढीमा परेपछि कक्षा ५ र त्यसभन्दा तलका विद्यार्थीहरूमध्ये ठूलो संख्या सम्पर्कविहीन भएको हो । विद्यालयमा पहिलो चरणमा आएका विद्यार्थीहरू भने सुरक्षित रहेको उनले बताए । लामिछानेका अनुसार विद्यालयमा करिब ५ सय विद्यार्थी अध्ययनरत छन् । त्यसमध्ये झन्डै २ सय विद्यार्थी अब विद्यालय फर्किने सम्भावना आफूले नदेखेको उनले बताएका छन् ।

बाढीले उत्तरगया–५ स्थित खाल्टे बस्ती नै बगाएकाले विद्यार्थीहरू घरमै बसेका भए पनि उनीहरूको अवस्थाबारे यकिन गर्न कठिन भएको विद्यालय प्रशासनले जनाएको छ । तीन सयभन्दा बढी घर रहेको उक्त बस्तीमा कति मानिस थिए र कति जना बेपत्ता छन् भन्ने तथ्यांकसमेत संकलन हुन सकेको छैन । भूकम्प प्रभावितलाई ल्याएर बसोबास गराइएको उक्त बस्तीका अधिकांश मानिस होल्डिङ सेन्टरमा समेत नदेखिएको प्रिन्सिपल लामिछानेले बताए । आफन्तको घरमा गएका विद्यार्थीहरू मात्र सम्पर्कमा आउने सम्भावना रहेको उनको भनाइ छ । उत्तरगया गाउँपालिकाले पाँचवटा क्लस्टर बनाएर प्रभावितको विवरण संकलन गरिरहेको छ । तर, बस्ती नै बगाएकाले बेपत्ता व्यक्तिको यकिन तथ्यांक संकलन गर्न निकै कठिन भइरहेको विद्यालय प्रशासनले जनाएको छ ।

नीलकण्ठ सेकेन्डरी स्कुल आसपासका अन्य विद्यालयका विद्यार्थीहरू पनि ठूलो संख्यामा हराइरहेको सूचना प्राप्त भएको प्रिन्सिपल लामिछानेले बताएका छन् । उनका अनुसार आसपासका विद्यालयबाट समेत करिब १ सय ५० विद्यार्थी सम्पर्कविहीन भएको जानकारी आएको छ । यसैबीच नीलकण्ठ सेकेन्डरी स्कुलका चार जना शिक्षक तथा कर्मचारीसमेत बाढीपछि सम्पर्कविहीन छन् । सम्पर्कविहीन हुनेमा अंग्रेजी शिक्षक नारायणबहादुर थापा, कम्प्युटर शिक्षक अजयकुमार यादव, स्कुल नर्स ममता श्रेष्ठ र पूर्वप्राथमिक शिक्षिका मनमाया तामाङ रहेका छन् । विद्यालयको भवन भने बाढीबाट जोगिएको छ । तर, विद्यालय वरपरका बस्ती र सडक संरचनामा ठूलो क्षति पुगेकाले विद्यार्थी तथा स्थानीयको वास्तविक अवस्था पत्ता लगाउन कठिन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्