काठमाडौँ – प्रतिनिधिसभाको बुधबारको बैठकले रसुवा बाढीले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । सभामुखद्वारा प्रस्तुत विशेष प्रस्तावमा गत १० भदौमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखा जिल्लाका तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति संसदले शोक व्यक्त गरेको हो । बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती तथा नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायतका क्षेत्रमा निकै ठूलो विध्वंस मच्चाएको छ । यस क्रममा धेरै संख्यामा स्वदेशी तथा विदेशी नागरिक बेपत्ता भएका छन् भने ठूलो संख्यामा मानिसहरूको मृत्यु भएको छ । प्रतिनिधिसभाले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । त्यसैगरी, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बाढीका कारण घरबारविहीन भएका नागरिकको तत्काल उचित व्यवस्थापन र पुनर्स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराइएको छ ।



प्रतिक्रिया दिनुहोस्