Skip to content

मंसिरमा छुट्टै महाधिवेशन गर्ने देउवा समुहको घोषणा, यस्ता छन् निर्णयहरु

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिक नेतृत्व गगन थापा नेतृत्वमा कायम रहेका बेला पार्टीभित्रको अर्को समूहले छुट्टै महाधिवेशनको तयारी अघि बढाएको छ । प्रा.डा. शशांक कोइरालाको संयोजकत्वमा गठित १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो । समितिको भदौ १७ गतेदेखि जारी बैठकले महाधिवेशन तयारीका लागि विभिन्न समिति गठनदेखि वडा तहदेखि प्रदेश तहसम्मका अधिवेशनको मिति समेत तय गरेको छ ।निर्णयअनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ ।

निर्वाचन र अधिवेशनका लागि छुट्टै संरचना

शशांक नेतृत्वको समितिले महाधिवेशन सम्पन्न गर्न केन्द्रीय निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन तथा व्यवस्थापन समिति, विधान संशोधन समिति र अनुशासन समिति गठन गर्ने जिम्मेवारी संयोजक कोइरालालाई दिएको छ । त्यस्तै, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल दलित संघ, आदिवासी जनजाति महासंघ, नेपाल सांस्कृतिक महासंघलगायत भ्रातृ तथा शुभेच्छुक संस्थाका तदर्थ समिति गठन गर्ने जिम्मेवारी पनि कोइरालालाई दिइएको छ । ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएर अधिवेशन तयारी समिति गठन गर्ने निर्णय गरिएको छ। भदौ २५ गतेभित्र जिल्ला अधिवेशन तयारी समिति, भदौ २८ गतेभित्र संघीय तथा प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन तयारी समिति तथा असोज ३ गतेभित्र पालिका र वडा अधिवेशन तयारी समिति गठन गरिसक्ने निर्णय समितिले गरेको छ ।

क्रियाशील सदस्यलाई महाधिवेशनमा सहभागी गराउने निर्णय

समितिले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यका विषयमा पनि निर्णय गरेको छ । नयाँ क्रियाशील सदस्य, १४औँ महाधिवेशनमा सहभागी भएका सबै क्रियाशील सदस्य, १५औँ महाधिवेशनमा सहभागी हुने गरी १४औँ महाधिवेशनमा निर्णय गरेका सदस्य तथा तोकिएको समयभित्र क्रियाशील सदस्यता नवीकरण गरेका सदस्यलाई महाधिवेशनमा सहभागी गराउने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ । क्रियाशील सदस्यतासम्बन्धी विवाद उत्पन्न भएमा क्रियाशील सदस्य छानबिन तथा व्यवस्थापन समितिको निर्णय अन्तिम हुने भनिएको छ ।

रसुवा, नुवाकोट र धादिङको अधिवेशन पछि

रसुवाको भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको अधिवेशन कार्यतालिका भने पछि सार्वजनिक गरिने समितिले जनाएको छ । त्यसैगरी प्रदेशसभा तथा स्थानीय तह निर्वाचनका लागि इच्छुक उम्मेदवारको नामावली संकलन तथा उपयुक्त उम्मेदवार छनोटको प्रक्रिया अघि बढाउने निर्णय पनि समितिले गरेको छ ।

बीपी जयन्ती भक्तपुरमा

समितिले ११३औँ बीपी जयन्तीको कार्यक्रम भदौ २४ गते भक्तपुरमा गर्ने निर्णय गरेको छ। कार्यक्रम व्यवस्थापनका लागि भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाको अध्यक्षतामा व्यवस्थापन समिति गठन गरिएको छ । समितिको अर्को बैठक भदौ २६ गते दिउँसो १ बजे चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्ने बताइएको छ । यद्यपि, गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै पार्टीको आधिकारिक संरचना रहेको अवस्थामा शशांक कोइराला नेतृत्वको समितिले समानान्तर रूपमा १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो । यसले कांग्रेसभित्रको लामो समयदेखिको आन्तरिक विवादलाई थप पेचिलो बनाएको छ । समानान्तर महाधिवेशनको वैधानिकता, प्रतिनिधित्व र त्यसबाट हुने निर्णयको स्वीकार्यतामाथि समेत प्रश्न उठ्ने देखिएको छ ।

May be an image of text

May be an image of ticket stub and text

प्रतिक्रिया दिनुहोस्